उडिसामा नेपाली विद्यार्थीमाथि हिंसा र हत्या प्रकरण: मूलप्रवाह अखिल भारत नेपाली एकता समाजद्वारा चार बुँदे ज्ञापनपत्र


उडिसा, भारत— भारतको उडिसा राज्यस्थित कीट (KIIT) विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको रहस्यमय हत्या र अन्य नेपाली विद्यार्थीमाथि गरिएको दुर्व्यवहारको विरोधमा मूलप्रवाह अखिल भारत नेपाली एकता समाज, पूर्वी भारत क्षेत्रीय समितिले ज्ञापनपत्र बुझाएको छ।


समाजका अध्यक्ष हेमकुमार थापा र सचिव गिरिराज परियारको नेतृत्वमा बुझाइएको
चार बुँदे ज्ञापनपत्रमा निम्न मागहरू राखिएका छन्:
1. प्रकृति लम्सालको हत्याको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गरियोस्।
2. नेपालका विद्यार्थीहरूमाथि गरिएको दुर्व्यवहारको तत्काल अन्त्य गरियोस्।
3. नेपाल सरकार र भारतीय उच्च अधिकारीहरूले घटना गम्भीर रूपमा लिएर पीडित पक्षलाई न्याय दिलाउन पहल गरून्।
4. विद्यार्थीहरूको सुरक्षाको ग्यारेन्टी गर्न विश्वविद्यालय प्रशासनले आवश्यक कदम चालोस्।
नेपाल-भारत सम्बन्ध मैत्रीपूर्ण भए पनि नेपाली विद्यार्थीहरूमाथि भइरहेको अन्यायपूर्ण व्यवहार र असुरक्षा चिन्ताजनक विषय बनेको समाजले उल्लेख गरेको छ। उनीहरूले घटनाको यथाशीघ्र समाधान नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी पनि दिएका छन्।
यो घटनाप्रति नेपाल सरकार, नेपाली समुदाय र अन्तर्राष्ट्रिय मानवअधिकार संघसंस्थाहरूले ध्यान दिनुपर्ने आवश्यकतासमेत समाजले जोडदार रूपमा उठाएको छ।





