बुढानिलकण्ठमा घर भाडामा लिएर दुई अर्बको जुवा, ९६ लाखको क्रिप्टो कारोबार, ११ भारतीय पक्राउ

 

काठमाडौं – काठमाडौंको बुढानिलकण्ठबाट गैरकानुनी रुपमा अनलाइन जुवा खेलाएको तथा क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा  ११ जना भारतीय पक्राउ परेका छन्।

प्रहरीले मंगलबार साँझ बुढानिलकण्ठ नगरपालिका-३ देउला टोलबाट भारतीयहरूलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार घर भाडामा लिएर जुवा खेलाउने र क्रिप्टो करेन्सी कारोबार गरेको पाइएपछि भारतीयलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा देश भारत, राजस्थान प्रदेश जयपुर जिल्ला घर भएका २४ वर्षीय सनी मिणा, राजस्थान प्रदेश आलुवा जिल्ला घर भएका २५ वर्षीय मोहित बर्मा, राजस्थान प्रदेश शिक्कर जिल्ला घर भएका २६ वर्षीय पिउस भारद्वाज रहेका छन्।

यस्तै, राजस्थान प्रदेश जयपुर जिल्ला घर भएका २५ वर्षीय हरकेश डडैया, २२ वर्षीय निसान्त भारद्वाज, २३ वर्षीय आकाश बर्मा, १९ वर्षीय अंकितकुमार सैनी, २३ वर्षीय सन्जु शाकला, २८ वर्षीय रामसिंह जाठ, १९ वर्षीय लोकेशकुमार र १९ वर्षीय विकास कुमार रहेका छन्।

images

देउला टोलस्थित घरमा अनलाइन जुवा (सट्टाबाजी) खेलाइरहेकै अवस्थामा उनीहरूलाई पक्राउ गरिएको बोहराले बताए।

प्रारम्भिक अनुसन्धान गर्दा उनीहरूले दुई अर्ब रुपैयाँ भन्दाबढी रकमको कारोबार हुने गरी अनलाइन जुवा (सट्टेबाजी) खेलाएको पाइएको छ।

images

साथै उनीहरूले ९६ लाख ३३ हजार भन्दाबढी रकम बराबरको अभौतिक मुद्रा (क्रिप्टो करेन्सी)को कारोबार समेत गरेको देखिएको बोहराले बताए।

images

उनीहरूलाई बुधबार काठमाडौं जिल्ला अदालतबाट दिन सात दिन थुनामा राख्ने अनुमति लिइएको छ।

अनलाइन जुवा खेलाइएको ठाउँबाट प्रहरीले ३४ थान मोबाइल, पाँच थान ल्यापटप, हिसाब-किताबको अभिलेख राखिएको नोटबुक चार थान, भारतीय बैंक खाताको चेक बुक १४ थान, भारतीय एटिएम कार्ड २७ थान र भारतीय सिमकार्ड ४० थान बरामद गरेको छ।

जिल्ला प्रहरी परिसर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले यसअघि पनि बुढानिलकण्ठ क्षेत्रबाट अनलाइन जुवा खेलाएको आरोपमा भारतीयलाई पक्राउ गरेको थियो।

 

Nepal life insurance