नेपालको आफ्नै कार्ड नेपालपे कार्ड सार्वजनिक, के के छन् सुविधा ?

 

काठमाडौँ – नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले नेपालको आफ्नै कार्ड  नेपालपे कार्ड सार्वजनिक गरेको हो । नेशनल पेमेन्ट स्वीच – नेशनल कार्ड स्वीच (एनपीएस – एनसीएस) र डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड) औपचारिक रूपमा सार्वजनिक भएको हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सोमबार नेपाल पे कार्डको पूर्वाधार स्थापना र प्राविधिक रूपमा तयार भएको घोषणा गरेको थिए । नेशनल पेमेन्ट स्वीच – नेशनल कार्ड स्वीच/नेपालपे कार्डको लागि नेपाल राष्ट्र बैंकबाट एनसीएचएलले हालै प्राप्त गरेको अन्तिम स्वीकृति पाएको थियो ।

कार्यक्रममा नेपालपे कार्डबाट गभर्नर अधिकारीले पहिलो कारोबार समेत गरेका थिए । यस क्रममा हिमालयन बैंकले जारी गरेको नेपालपे कार्ड प्रयोग गरी माछापुच्छ्रे बैंकको प्वाइन्ट अफ सेल (POS) टर्मिनल र सिद्धार्थ बैंकको एटीएममा सफल कारोबार गरिएको थियो ।

एनपीएसको पूर्वाधारको एक महत्वपूर्ण हिस्सा अन्तर्गत, एनसीएचएलले राष्ट्रिय कार्ड स्विच, केन्द्रीकृत निवारण तथा विवाद व्यवस्थापन प्रणाली, कृत्रिम बुद्धिमत्ता/मेसिन लर्निङ (AI/ML) आधारित ठगी तथा जोखिम व्यवस्थापन प्रणाली र नेपालपे घरेलु कार्ड योजना लागू गरेको छ ।

यो एनपीएस कार्यान्वयनको अन्तिम चरण हो, जसअन्तर्गत यसअघि २०२१ नोभेम्बरदेखि रिटेल पेमेन्ट स्विच (RPS) र अन्तरदेशीय अन्तरफेस (NPIx) कार्यान्वयन भइसकेका छन् । एनपीएस-एनसीएस र नेपालपे कार्डको तयारी पूरा भएसँगै, सहभागी बैंक तथा वित्तीय संस्थाहरू (बीएफआई), पीएसओ र पीएसपीहरूले अब आफ्ना प्रणालीहरूलाई नेपालपे कार्ड जारी गर्न र कारोबार सहज बनाउन एकीकृत गर्न सक्नेछन् । बैं

कहरूको संलग्नतालाई अगाडि बढाउन एनसीएचएल र विभिन्न बैंक तथा वित्तीय संस्थाहरू बीच ‘प्रिन्सिपल मेम्बरशिप’ सम्झौता आदानप्रदान गरिएको छ । सम्झौतामा सहभागी हुने संस्थाहरूमा सिटिजन्स बैंक इन्टरनेशनल, गुडविल फाइनान्स, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, मुक्तिनाथ विकास बैंक, एनएमबी बैंक, प्रभु बैंक, शांग्री-ला डेभलपमेन्ट बैंक, र सिद्धार्थ बैंक रहेका छन् ।

images

एनसीएचएलले ११ वटा बैंक तथा वित्तीय संस्थाहरूलाई अन्तर्राष्ट्रिय कार्ड योजनाहरू सञ्चालन गर्न मद्दत गर्दै आएको आफ्नो इलेक्ट्रोनिक फन्ड ट्रान्सफर (EFT) स्विचलाई अब नेपालपे कार्डलाई स्वीकृत गर्न तयार रहेको घोषणा गरिएको छ । अन्य बैंक तथा वित्तीय संस्थाहरूलाई नेपालपे नेटवर्कमा आबद्ध गराउन थप प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ ।

एनपीएस-एनसीएसको कार्यान्वयनबाट घरेलु कार्ड कारोबारलाई अन्तरसञ्चालित बनाउने, लागत घटाउने, डेटा स्थानीयकरण लागू गर्ने, र डिजिटल भुक्तानी प्रणालीमा नवीनता ल्याउने लक्ष्य राखिएको छ । नेपालपे कार्ड EMV चिप प्रविधिमा आधारित छ र यसलाई अन्तर्राष्ट्रिय रूपमा स्वीकार्य बनाउन एक अन्तर्राष्ट्रिय कार्ड नेटवर्कसँग सहकार्य गरिएको छ ।

images

नेपालपे कार्ड योजना अन्तर्गत, सहभागी बैंक तथा वित्तीय संस्थाहरू (बीएफआई) र भुक्तानी सेवा प्रदायक (पीएसपी)हरूले यसलाई प्रिन्सिपल वा एसोसिएट सदस्यका रूपमा जारी गर्नेछन् । भुक्तानी प्रणाली सञ्चालक (पीएसओ)हरूले तेस्रो पक्ष भुक्तानी प्रशोधनकर्ता (TPP) का रूपमा कार्ड प्रणाली निर्माण गर्नेछन् । नेपालपे कार्डलाई ग्राहकहरूले पीओएस टर्मिनल, एटीएम र भविष्यमा ई-कमर्स कारोबार तथा भर्चुअल कार्डका रूपमा प्रयोग गर्न सक्नेछन् ।

images