मेरो जीवनको आधार मेरी आमा संघर्षकी प्रतिमुर्ति

 

मेरो जीवनको आधार मेरी आमा संघर्षकी प्रतिमुर्ति

-खुसी अधिकारी ,काठमाण्डौ ।

मेरो आमा, मेरो जननी। यही पवित्र शब्दभित्र लुकेको छ समस्त माया, त्याग र प्रेरणा। आमा, जसले मलाई यो सुन्दर संसारमा ल्याउनुभयो, जसले मेरो पहिलो श्वासदेखि आजसम्म जीवनको प्रत्येक मोडमा साथ दिनुभयो। मेरी आमा मेरो जीवनको सबैभन्दा ठूलो प्रेरणाको श्रोत हुनुहुन्छ, मेरो उज्ज्वल भविष्य निर्माण गर्ने पहिलो गुरु हुनुहुन्छ।

हामी आठ सन्तान एक छोरा र सात छोरी। यत्रो ठूलो परिवारलाई समाल्न, हुर्काउन र शिक्षित बनाउन हाम्रो आमाले गरेको संघर्ष वर्णन गर्न शब्दहरू अपुग हुन्छन्। बिहानदेखि बेलुका सम्म पसिना बगाएर हामीलाई हुर्काउनु, पढाउनु र जीवनमा केही बनाउन हरदम लागिरहनु भयो। हामीलाई खान लाउन निकै गाह्रो थियो। अरूले नयाँ नयाँ लुगा लगाउँदा, हामी भने च्यातिएका लुगा सिलाएर लगाउन बाध्य हुन्थ्यौं। कति पटक आमाकै पुराना सारी च्यातेर हाम्रो लागि कपडा बनाइदिनुभएको सम्झँदा आज पनि आँखामा आँसु आउँछ।

Nepal life insurance

भोकले आँखा थाक्ने, निद्रा लाग्ने दिनहरू थुप्रै थिए। तर आमा, तपाईंको मायाले त्यो भोकको पीडा पनि मिठासमा परिणत गर्थ्यो। तपाईंको हिम्मतले, तपाईंको आशीर्वादले, हामी कहिल्यै हारेनौं।

आज समय फेरिएको छ। हिजो ती फाटेका लुगा र भोकका दिनहरूलाई सम्झिँदै, हामी हर्षित छौं कि अब हरेक महिना नयाँ लुगा किन्न सक्छौं, पेटभरि मिठा खाना खान सक्छौं। यो सारा सफलताको जरा तपाईंको निस्वार्थ प्रेम र अथक परिश्रममै गाढिएको छ, आमा।

images

हामीलाई एउटा मात्र ठूलो चोट छ त्यो हो बाबाको अभाव। हामीले हाम्रो जन्मदा बाबा धेरै चाँडै गुमायौं। उहाँको माया, उहाँको अभाव कहिल्यै भरिन नसक्ने घाउ बनेर रहिरहन्छ। आज पनि बाबाको सम्झनामा आँखाहरू रसाउँछन्। मन भारी हुन्छ
तर, आमा तपाईंले कहिल्यै हामीलाई एक्लो हुन दिनुभएन। तपाईं सधैं हाम्रो दरिलो खम्बा बनिरहनुभयो, हाम्रो प्रेरणाको प्रकाश बनिरहनुभयो।
मेरो आमा तपाईं मात्र आमा होइन, तपाईं साक्षात् देवी हुनुहुन्छ, जसले बिना स्वार्थ माया गर्नुभयो, हाम्रा सपनालाई आफ्नो सपना बनाइदिनुभयो।

images

आमा, म हजुरको आँखाको नानी, हजुरको आशाको किरण बन्न सकूँ। हजुरको सपना पूरा गर्ने छोरी बनूँ सकूँ।समाजमा यस्तो उदाहरण बन्न सकूँ।म आफ्नो व्यवहार, सोच, र कर्मले सबैको मन जित्न सकूँ।

हजुरले सिकाउनुभएको इमान, माया, परिश्रम र आदर्शलाई जीवनमा उतारी म एउटा असल नारी बन्न सकूँ। म जति अगाडि बढे पनि म मेरो जरा मेरी आमा हजुरलााई कहिल्यै भुल्ने छैन। आफ्नो संस्कृति, आफ्नो मूल्य, र हजुरले सिकाएको मानवता सधैं आत्मसात गर्नेछु।मेरो सफलताको हरेक खुड्किला हजुरलाई समर्पित हुनेछ।मेरो जीवनमा आएको प्रत्येक सफलताको पहिलो श्रेय सधैं हजुरलाई हुनेछ। म हजुरलाई सधैं खुसी र सुुुुखि देख्न चाहन्छु,त्यसैले , म मिहिनेत गर्नेछु, सही बाटोमा हिड्नेछु, र आफूलाई समाजले सम्मान गर्ने योग्य बनाउनेछु।

images

मातातिर्थ औंसीको पावन अवसरमा संसारका सम्पूर्ण आमाहरूप्रति पनि हार्दिक सम्मान र श्रद्धा प्रकट गर्दछु।
तपाईंहरूकै मायाले संसार सुन्दर छ।

-खुसी अधिकारी ,काठमाण्डौ ।

 

Nepal life insurance

Nepal life insurance