



अनिल नेपाली ,अर्घाखाँची ।
मालारानी , अर्घाखाँची – अर्घाखाँची जिल्लाकाे मालारानी गाउँपालिका वडा नं ४ निगालीटोल बस्ने २२ बर्षिया प्रिति बिकलाई आफ्नै छिमेकीले निर्घात कुटपिट गरेका छन् ।


बुधबार बिहान धारामा पानी लिन गएको बेला सोही ठाउँका स्थानीय डिलाराम रिजालले बिकलाई निर्घात कुटपिट गरेका हुन् ।रिजालको कुटाईबाट सख्त घाइते भएकी बिकको जिल्ला अस्पतालमा सन्धिखर्कमा उपचार भइरहेको छ ।

उपचारमा संलग्न चिकित्सक अनुसार बिकको शरिरमा थुप्रै लिडाम हुनुका साथै हात, खुट्टा र ढाडमा देखिने खालका थुप्रै चोट छन् ।रिजालले आफ्नो पँधेरामा पानी भर्न आएको भन्दै बिकलाई गाली गलौज गरेका थिए ।

‘मेरो जग्गामा भएको पँधेरामा तिमीहरुले पानी भर्न पाउँदैनौँ । अबदेखि यो मन्दिरदेखि तल झरेर पानी लिन आउने होइन,’ भन्दै बिकमाथि जाइलागेको स्थानीयले बताए ।


रिजालले बिकलाई लठ्ठी र मुक्का प्रहार गरि निर्घात कुटपीट गरेका थिए । रिजाललाई प्रहरीले पीडितको उजुरीका आधारमा तत्काल पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर मल्लले जानकारी दिए । उनले भने, ‘पीडकलाई पक्राउ गरिएको छ ।

उनीमाथि अनुसन्धान भइरहेको छ ।’ पीडितको जाहेरीका अधारमा हातपात, गाली बेइजत्ती तथा अभद्र ब्यवहार सम्वन्धि मुद्धमा पीडकलाई कारवाही हुन सक्ने उनले बताए का छन् ।






