तस्बिर : दुर्लभ चराको आधारभूत तथ्याङ्क संकलन र स्थानीयस्तरमा चेतना अभिवृद्धिका लागि कार्यक्रम सञ्चालन।





चिर कालिज संरक्षणमा नयाँ पहल: अर्घाखाँचीको घेराभिर र घोरलासीमा अनुसन्धान सम्पन्न , दुर्लभ चराको आधारभूत तथ्याङ्क संकलन र स्थानीयस्तरमा चेतना अभिवृद्धिका लागि कार्यक्रम सञ्चालन।
-बिशाल खनाल (अनुसन्धान संयोजक)
अर्घाखाँची — अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका अन्तर्गत घेराभिर र घोरलासी क्षेत्रहरूमा हालै चिर कालिज अनुसन्धान तथा संरक्षण कार्यक्रम सम्पन्न गरिएको छ। नेपाल, भारत र पाकिस्तानमा मात्र पाइने यो दुर्लभ चराको विश्वव्यापी संख्या अनुमानित २,५०० देखि ३,५०० रहेको छ भने नेपालको जनसंख्या १,००० भन्दा कम रहेको बताइन्छ।


चिर फेजेन्टको सम्भावित बासस्थानको पहिचान र स्थानीय समुदायमा संरक्षण चेतना अभिवृद्धिका लागि गरिएको यो कार्यक्रमको नेतृत्व मालारानीकै अनुसन्धानकर्ता बिशाल खनालले गरेका हुन्, जो हालै इन्स्टिच्युट अफ फरेस्ट्री, हेटौंडा क्याम्पसबाट स्नातक भएका छ्न ।


अनुसन्धान अनुसार घेराभिर क्षेत्रमा चिर कालिजको संख्या केही सन्तोषजनक रहेको भएपनि भने घोरलासी क्षेत्रमा प्रजातिको संख्या न्यून देखिएको छ। बिसं २०६६/६७ मा गिद्ध विज्ञ कृष्ण भुसालले घेराभिरमा चिर फेजेन्टको पहिलो रेकर्ड गर्नुभएको थियो।

त्यसपछि सन२०२० मा बर्ड कन्जर्भेसन नेपाल (BCN) को टोलीले घोरलासी क्षेत्रबाट यस प्रजाति फेला पारेको थियो। यस्ता महत्वपूर्ण प्रमाण हुँदाहुँदै पनि त्यस क्षेत्रमा अझैसम्म ठोस अनुसन्धान नभएको पाइएको छ।

अनुसन्धानकर्ताले गरेको सामाजिक सर्वेक्षण अनुसार अधिकांश स्थानीय बासिन्दाहरू चिर फेजेन्टबारे अनभिज्ञ छन् र यसलाई सामान्य कालिज भनेर चिन्ने गर्दछन्। पासो, डढेलो, तथा अवैध सिकारका कारण चिर फेजेन्टको मृत्यु हुने गरेको पाइयो। साथै संरक्षणसम्बन्धी कानुन र नीतिप्रति स्थानीयहरूको जानकारी पनि न्यून रहेको छ।


यसै सन्दर्भमा अनुसन्धान टोलीले केही विद्यालय तथा समुदायमा चिर फेजेन्ट संरक्षणसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको थियो। कार्यशालापछि गरिएको अनौपचारिक अन्तरक्रियामा स्थानीय बासिन्दाहरूको संरक्षणप्रतिको सोच सकारात्मक देखिएको छ।


अनुसन्धान टोलीका अनुसार चिर फेजेन्टको दीर्घकालीन संरक्षणका लागि समुदायमा चेतना अभिवृद्धि, सामुदायिक निगरानी संयन्त्रको स्थापना, र थप वैज्ञानिक अनुसन्धान अत्यावश्यक छ।

अर्घाखाँची जिल्लाको अन्य क्षेत्रहरूमा पनि सम्भावित बासस्थान पहिचान गर्नुपर्ने आवश्यकता रहेको उनीहरूले बताए। उक्त कार्यक्रम World pheasant Association को सहकर्यमा सन्चालन गरिएको थियो।
सम्पर्क:बिशाल खनाल
अनुसन्धान संयोजक
Email: Khanalbishal96@gmail.com
थप तस्बिर :









