




– गङ्गा ज्ञवाली
मेरो जन्म भूमि रूरु क्षेत्र रिडी
मेरा असख्य ईच्छा चाहना र
अतृप्त आकांक्षा हरु त्यही माटोमा
विलाएका छन्
जहाँ म जन्मे
मलाई त्यहाँको बाटोले बिर्से पनि
माटोले बिर्सेको छैन
त्यहाँका मानिसले बिर्से पनि
रूख बिरुवाले बिर्सेका छैनन्
असंख्य थोपा पसिनाले सिन्चिएको छ
मेरो अदृश्य रगतले भिजेको छ
किनभने मेरो त्यो जन्मभूमि हो।
काली नदीको बहाव ले बिर्सेको छैन
नदी किनारको बालुवाको झन के कुरा
मलाई गल्फुल गुफा ले बोलाइरहेको छ
विस्नुपञ्जर का आपका बगैंचा ले
बिरुवाका जामुन र फडेर का रुखले
नियालिरहेका होलान्
रिडी खोलाको भैंसे रह र घोप्टे रहमा
पौडि खेल्ने मेरो रहर त्यही छ
बगरको बालुवामा मेरा डोब हराएका छन्
कपर्दी खेल्ने अब काे होला र खै ?
लमाचौपारी काे पिङ्ले पर्खी रहेको होला
हाइस्कूलको तीजको डाँडा ले
अब आश मारिसकेको होला
तर मैले बिर्सन कहाँ सक्छु र?
भुल्न कसरी सक्छु त्यो सबैको माया
बजार भरी रमाई रमाई हिँडेको
स्याङ्गजा तिर कुँदिएका हनुमानले
हेरिरहेका थिए र सम्झिरहेका होलान्
कल्पनामा भएपनि सपनामा भएपनि
मन मनै भनिरहेका होलान्
चेली काे मन भित्रको माइतीको ममता
कति गाढा हुँदो रहेछ
कति विवस रहेछन् जन्मभूमि छोड्न
न डर कसैको न त्रास न विभेद
सबैको ममता मुटुमा बस्दो रहेछ
औंसी एकादशी पूर्णिमा सक्रान्तिमा
भगवान ऋषकेशको नजर पक्कै होला
आफ्नी छोरीको शिरमा आशीर्वाद सदै
पाइरहेकी छु त्यसैले होला
रुरू प्राविको क ख संस्कृत मा वि काे श्लोक
अनि रूरु संस्कृत विद्यापीठ काे ममता
कसरी भुल्न सक्छु र
म जन्मेको माटो मेरो जन्म स्थान
कालीनदीको शितलता मा मातृत्व महसुस गर्ने म
ऋषिकेशको मूर्तिमा पिताको अनुभूति गर्ने म
मलाई रिडी भन्दा प्यारो अरू कहाँ होला र?
यसरी नियाल्न बाहेक के पो गर्न सक्छु र।।।।।।
– गङ्गा ज्ञवाली



