
मुम्बई – नायिका ऐश्वर्या राय बच्चन
केही समयअघि मात्रै गर्भवती भएको समाचारले बलिउड तताएको मात्रै थिएन । उनले खेल्दै गरेको फिल्म
‘हिरोइन’बाट अलग भइदिएपछि निर्माताहरू मारमा परेको भन्दै नायिकाप्रति असन्तोष
व्यक्त गरेका थिए । अहिले बलिउड पुनः अर्की नायिका लारा दत्तको त्यस्तै समाचारले
गर्माएको छ । मोडलिङ हुँदै अभिनय क्षेत्रमा प्रवेश गरेकी लाराको तस्बिरमा
देखिएजस्तो आकर्षक शरीर केही समयका लागि देख्न पाइने छैन ।
विभिन्न अड्कलबाजीका बीचमा उनले आफू गर्भवती भएको स्वीकार गरेकी हुन् । फिल्म
‘अन्दाज’बाट बलिउडमा नायिकाका रूपमा देखा परेकी ३३ वषर्ीया लाराले साढे पाँच
महिनाअघि भारतीय टेनिस खेलाडी महेश भूपतीसँग विवाह गरेकी थिइन् । फेब्रुअरी १६ मा
बान्द्रामा उनको विवाह भए पनि बीचमा दाम्पत्यजीवन समस्यामा परेको सुन्नमा आए पनि
पछिल्लो खबरले भने सबैलाई उत्साहित बनाइदिएको छ ।
एक स्थानीय सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिने क्रममा पूर्व मिस युनिभर्स लाराले
आफूहरूले गर्भ रहेको समाचार उपयुक्त समय आएपछि मात्रै खुलासा गर्ने सोचमा भए पनि
पहिल्यै गाईगुई चल्न थालेपछि स्वीकारेको बताएकी छन् ।
केही समयअघि गर्भवती भएलगत्तै आफूले बलिउडलाई टाटा बाईबाई गर्ने बताएकी थिइन् ।
पछिल्लो समाचारपछि उनको करिअरको भविष्यबारेमा जिज्ञासा राख्दा उनले भनिन्, ‘म
कहिल्यै पनि काम बन्द गरेर बस्ने मान्छे होइन । आफू जे गर्नमा बढी रुचाउँछु, त्यही
गर्छु ।’ रिलिजका लागि बसेको फिल्म ‘डन २’ बाट उत्साहित नायिकाले करिअर
छोड्ने/नछोड्नेबारेमा तत्काल सोझो जवाफ दिइनन् ।
एजेन्सी



