बारामा एक २३ बर्षीया प्रावि महिला शिक्षक डेढ महिनादेखि बेपत्ता

– लक्ष्मी साह

 

निजगढ  – बाराको ककडी गाविस स्थित नेराप्रावि बलुवाकी एक महिला शिक्षक डेढ महिनादेखि बेपत्ता भएकी छिन् । ककडी गाविस ४ बलुवा गाउँकी २३ बर्षीया महिला शिक्षक नितु चौधरी बेपत्ता भएकी हुन् । उनकी पति संजय चौधरी घरमै छन् ।

उनको खोजी कार्यका लागि परिवारजनले प्रहरीमा उजुरी गर्दै मानव अधिकारकर्मी तथा प्रहरी प्रशासनलाई अनुरोध गरेका छन् । शिक्षकका ससुरा बासुदेव चौधरीका अनुसार उपचारका लागि घरबाट वीरगंज तर्फ बसबाट गत असार ५ गते निस्केकी नितु अझै घर फर्केकी छैनन् । ‘बुहारी कसैको सम्पर्कमा नि छैन्’ ससुरा बासु चौधरीले भने ।

उनको खोजीका लागि माईती र ससुरापट्टीका आफन्तजनले बेपत्ता भएदेखि खोजीकार्यमा जुटे पनि काहीकतै पतो नलागेको परिवारिक स्रोतले बताएका छन् । ‘डेढ महिनादेखि बहिनीलाई खोज्दैमा हैरान छौं’ नितुकी दाजु महेश्वर चौधरीले भने, ‘बहिनीको फोनको कल डिटेल हेर्दा बेपत्ता भएदेखिको पाँच दिनमा कम्तीमा सय पटक अरुको फोनमा कुरा भएको छ ।’ तर अहिले बहिनीको फोन नम्बर ब्लक भएको देखाएको उनको भनाई छ । सप्तरी बकधुवा गाविस ६ मा माइती भएकी नितु त्यहाँ पनि छैनन् ।