




सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकामाथि बलात्कारपछि हत्या गरेको आरोपमा पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले पाँच जनालाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार असार ११ गते भोटेकोशी गाउँपालिका-५ छ्याङ्दीको एक जंगलमा १२ वर्षीया बालिका मृत फेला परेकी थिइन् ।

बलात्कारपछि हत्या आरोपमा प्रहरीले भोटेकोशीकै २१ वर्षीय निमा तेन्जिङ तामाङ, २२ वर्षीय वाङनिमा तामाङ, ३२ वर्षीय नामग्याल शेर्पा, २० वर्षीय दावा तामाङ र २२ वर्षीय लाक्पा पासाङ तामाङलाई पक्राउ गरेको हो । कोलगाउँ बस्ने बालिकाको शव घरदेखि अन्दाजी ४ सय मिटर पर रहेको बारीमा फेला परेको थियो । शव फेला परेपछि प्रहरीले घटनास्थलमा काठमाडौँबाट लागिएको तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरेको थियो ।


प्रहरीको अनुसन्धानबाट पाँच जना आरोपी रहेको खुलेको जानकारी दिएको छ । प्रहरीले जिल्ला अदालतबाट सात दिनको म्याद थपेर उनीहरुमाथि अनुसन्धान जारी रहेको जनाएको छ ।



