पश्चिमा मुलुकमा पुनर्वास हुने भूटानी शरणार्थीको सङ्ख्या ५० हजार

काठमाडौ। झापा र मोरङमा लामो समयदेखि बस्दै आएका भूटानी शरणार्थीमध्ये पश्चिमा मुलुकमा पुनर्वास हुने शरणार्थीको सङ्ख्या ५० हजार पुगेको छ ।


नेपालस्थित राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालय (युएनएचसिआर) का अनुसार सन् २००७ नोभेम्बरमा आरम्भ भएको पुनर्वास योजनाअन्तर्गत हालसम्म आठवटा पश्चिमा मुलुकमा पुनर्वास भइरहेको छ ।


उच्चायुक्तको कार्यालयका अनुसार सबैभन्दा बढी सङ्ख्याका शरणार्थी संयुक्त राज्य अमेरिकामा पुनर्वासमा गएका छन् । अमेरिकाले मात्र ४२ हजार शरणार्थीलाई आफ्नो मुलुकमा पुनर्वासमा लगेको छ ।


यसैगरी, अन्य आठ हजार शरणार्थीलाई क्यानडा, अस्ट्रेलिया, न्यूजिल्यान्ड, नर्वे, डेनमार्क, नेदरल्यान्ड्स र बेलायतमा पुनर्वास गराइएको छ ।


शिविरमा बाँकी रहेका ६३ हजार शरणार्थीमध्ये ४७ हजारले पुनर्वासका लागि रुची देखाएर आवेदन दिइसकेको उच्चायुक्तको कार्यालयले जनाएको छ । उनीहरू आगामी चार वर्षभित्र पुनर्वास हुनसक्ने बताइएको छ ।