



काठमाडौँ । पोर्चुगलको फुटबल फेडेरेसनले डियोगो जोटा र उनका भाइ आन्द्रे सिल्भाको मृत्युले पोर्चुगिज फुटबल महासंघ र सम्पूर्ण पोर्चुगिज फुटबल पूर्ण रूपमा स्तब्ध भएको जनाएको छ ।

राष्ट्रिय टिमका ४९ खेल खेलेका, उत्कृष्ट खेलाडी भन्दा धेरै, डियोगो जोटा एक असाधारण व्यक्ति भएको र सबै सहकर्मी र विपक्षीहरूले सम्मान गर्ने व्यक्ति भएको फेडेरेसनले उल्लेख गरेको छ ।
फेडेरेसनले भनेको छ-
पोर्चुगिज फुटबल महासंघ डियोगो र आन्द्रे सिल्भाको परिवार र साथीभाइहरू, साथै खेलाडीहरूले खेलेका क्लब लिभरपुल एफसी र एफसी पेनाफिलप्रति गहिरो समवेदना व्यक्त गर्दछ । हामीले दुई च्याम्पियन गुमायौं । डियोगो र आन्द्रे सिल्भाको निधनले पोर्चुगिज फुटबलको लागि अपूरणीय क्षति पुगेको छ र उनीहरूको विरासतलाई दैनिक सम्मान गर्नेछौं ।

२८ वर्षीय जोटाको उत्तरपश्चिमी स्पेनको जामोरा नजिकै भएको दुर्घटनामा मृत्यु भएको हो । रिपोर्टका अनुसार दुर्घटनामा उनका भाइ आन्द्रेको पनि मृत्यु भएको छ । स्थानीय समय अनुसार बिहान १२: ४० बजे भएको थियो, जब उनीहरु चढेको कार सडकमा दुर्घटनाग्रस्त भयो र आगो लाग्यो । जोटाले १० दिन अघि मात्र विवाह गरेका थिए ।
उनी व्यावसायिक रुपमा लिभरपुलबाट खेलिरहेका थिए । जोटाले सेप्टेम्बर २०२० मा वोल्भरह्याम्प्टन वान्डरर्सबाट लिभरपुलमा आवद्ध भएका थिए । उनले लिभरपुलका लागि १८२ खेलमा ६५ गोल गरेका थिए । त्यस्तै उनले पोर्चुगलको राष्ट्रिय टिमबाट ४९ खेल खेल्दै १४ गोल गरेका थिए । उनका भाइ, २६ वर्षीय आन्द्रे पनि फुटबलर नै थिए । उनले पोर्चुगिज दोस्रो डिभिजन क्लब पेनाफिलबाट खेलिरहेका थिए ।



