




काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले उपप्रधानमन्त्री तथा आर्थिक विकास मन्त्री युलिया स्वीरिडेन्कोलाई देशको नयाँ प्रधानमन्त्री बनाउन सिफारिस गरेका छन्।

जेलेन्स्कीले युलियालाई प्रधानमन्त्री बनाउन सिफारिस गरेको जानकारी दिएका छन् । उनले २०२० देखि पदमा रहेका डेनिस श्मिहालको ठाउँमा युलिया स्वीरिडेन्कोलाई नयाँ प्रधानमन्त्रीको रूपमा मनोनित गर्ने बताएका छन् ।
जेलेन्स्कीले सरकारमा नवीकरण चाहेको बताएका छन् । युक्रेन र ट्रम्प प्रशासनबीच सैन्य सहयोगको बदलामा प्राकृतिक स्रोतसाधन दिने सम्झौता स्वीरिडेन्कोको निरीक्षणमा भएको थियो ।

प्रधानमन्त्रीको रूपमा स्वीरिडेन्कोको नियुक्ति संसदको स्वीकृतिमा निर्भर गर्दछ । यद्यपि, जेलेन्स्कीको पार्टी ‘सर्भेन्ट अफ द पिपल’ २०१९ देखि २५४ सिटसहित पूर्ण बहुमतमा रहेको छ । आज संसदमा यसबारे छलफल हुन सक्छ, तर स्वीरिडेन्कोको नियुक्तिमा मतदानको मिति अझै आएको छैन ।
जेलेन्स्कीको यो निर्णयप्रति विपक्षी दलहरूले प्रश्न उठाएका छन्, उपप्रधानमन्त्रीलाई प्रधानमन्त्री बनाउनु परिवर्तन नभएको उनीहरुको भनाई छ । जेलेन्स्कीले आफ्नो शक्ति बढाउन स्वीरिडेन्कोलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको उनीहरुको आरोप छ । विपक्षीहरूले जेलेन्स्कीलाई शक्तिको दुरुपयोग गरेको पनि आरोप लगाएका छन् ।
युक्रेन र अमेरिकाबीच फेब्रुअरीमा ५० प्रतिशत दुर्लभ पृथ्वी सामग्रीको लागि सम्झौता भएको थियो । यसमा ग्रेफाइट, युरेनियम, टाइटेनियम, लिथियम सहित धेरै बहुमूल्य र दुर्लभ खनिजहरू समावेश थिए । तिनीहरू टेस्ला कारदेखि स्पेसएक्स रकेटसम्म, होविट्जरदेखि मोबाइल चिप्ससम्म सबै कुरामा प्रयोग गरिन्छ । ट्रम्पले युक्रेनी सरकारलाई अमेरिकालाई दुर्लभ खनिजहरू दिन दबाब दिइरहेका थिए ।

रूस र युक्रेनबीचको युद्ध फेब्रुअरी २०२२ देखि चलिरहेको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४ फेब्रुअरी २०२२ मा युक्रेनमा सैन्य कारबाहीको घोषणा गरे । त्यसबेलादेखि दुवै देशले एकअर्कामाथि आक्रमण गरिरहेका छन्



