नवलपरासीमा ठूलो परिणाममा नेपाली नक्कली नोट सहित एक जनालाई पक्राउ

परासी  – नवलपरासी इलाका प्रहरी कार्यालय कावासोतीले बिहीबार राति ठूलो परिणाममा नेपाली नक्कली नोट सहित एक जनालाई पक्राउ  गरेको छ । प्रहरीले   जिल्लाको रजहरबाट नेपाली एक हजार रुपैयांका नक्कली नोट एक सय १२ थान सहित नुवाकोट  भिकुरी ४ बस्ने  ४४ वर्षीय छोरा शिवराम भट्टलाई पक्राउ गरेको हो । 

 

पक्राउ पर्नेसंग एक लाख १२ हजार रुपैयां नक्कली नेपाली नोट र केही नक्कली मुगा समेत बरामद भएको इलाका प्रहरी कार्यालय कावासोतीका प्रमुख डिएसपी मुकुन्द मरासिनीका बताए । भट्टलाई राति ना ४ ख ३१९८ नम्बरको रात्रिबस मार्फत काठमाडौंबाट धनगढी जाने क्रममा सुराकीको आधारमा पक्राउ गरेको डिएसपी मरासिनीले जनाए ।

 

यसअघि काठमाडौं र भैरहवा लगायतका स्थानबाट यस्तो नक्कली नेपाली नोट बरामद गरिए पनि नवलपरासीमा पहिलो पटक यतिको ठूलो परिणाममा नक्कली नोट बरामद भएको हो  । पक्राउ परेकोलाई खोटो चलन अन्तरगत मुद्दा चलाउने तयारी गरेको प्रहरीले जनाएको छ ।