आज बाबुको मुख हेर्ने पर्व – कुशे औशी,आ-आफ्ना बाबुलाई परिकारका मिठाई फलफूल आदि भोजन गराई मनाइँदै

काठमाडौं  – छोराछोरीले आ-आफ्ना बाबुलाई परिकारका मिठाई फलफूल आदि भोजन गराई सोमवार बाबुको मुख हेर्ने पर्व मनाइँदैछ । 

आफूलाई जन्म दिई लालनपालन गरी हुर्काएकोमा बाबुप्रति कृतज्ञता ज्ञापन गर्न पितृदिवशको रुपमा मनाइने यस पर्वमा छोराछोरीहरुले आ-आफ्ना बाबुलाई त्यसरी सम्मान प्रकट गरी आशिर्वाद ग्रहण परम्परा रहन्दै आएको छ ।

बाबु दिवंगत भई सकेका छोराछोरीहरुले भने यस दिन राजधानीबाट करिव १२ किलोमिटर  पूर्वतर्फ पर्ने बागमती नदिको किनारमा रहेको गोकर्णेश्वर महादेवको मन्दिरमा गई आफ्ना दिवंगत बाबुको नाममा पिण्ड तर्पण गर्ने गरिन्छ । त्यसैले यसऔशीलाई गोकर्ण औंशी पनि भन्ने गरिन्छ ।

बौद्ध महायान धर्मावलम्वीहरुले पनि त्यस क्षेत्रलाई अष्टबैतराग (पितृ उद्धार हुने ठाउँ) मध्ये एक ठाउँ मान्दै आएकाले त्यस स्थान हिन्दू र बौद्धहरुका पवित्र तीर्थस्थल भएको छ । त्यहाँसम्म पुग्न नसक्ने छोराछोरीले भने दिवंगत आफ्नो बाबुको नाममा पुरोहित वा कुनै ब्राम्हण वा बज्राचार्यलाई सिदा दान दिने गर्दछन् । 

हिन्दूहरुले यस दिनलाई कुशे औशीको रुपमा लिने गर्दछन् । यस दिन ब्राम्हणहरुले नयाँ कुशलाई मन्त्रले शोधन गरी आ-आफ्ना यजमानको घरमा पुर्‍याई सिदा ग्रहण गर्ने गर्दछन् । यहीं कुश वर्षभरि सबै प्रकारका शास्त्रिय कर्म गर्दा प्रयोग गर्ने गर्दछन् ।