




काठमाडौँ । काठमाडौं महानगरपालिकाले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाटलाई २ लाख रुपैयाँसहित सम्मान गरेको छ । यस्तै, प्रथम खोखो विश्वकप २०२५ मा उपविजेता बनेका महिला र पुरुष टोलीलाई ११–११ लाख रुपैयाँ गरी जम्मा २२ लाखको चेकसहित सम्मान गरेको छ ।

खोखोको रकम व्यवस्थापन नेपाल खोखो संघले नै गर्नेछ । सम्मान कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र सामाजिक विकास समितिका संयोजकलगायतको उपस्थिति रहेको थियो । यो सम्मान सामाजिक विकास समितिको सिफारिसमा गरिएको हो ।

उक्त सम्मान कार्यक्रममा बोल्दै सामाजिक विकास समितिका संयोजक रामकुमार केसीले यस्ता खेलले नेपालको शिर ठाडो बनाएको बताए । कार्यक्रममा केसीले थपे- ‘महानगरपालिकाले नेपालको तर्फबाट खेल्ने टोलीहरूलाई विगतमा पनि सम्मान गर्दै आएको छ र भविष्यमा पनि निरन्तरता दिनेछ ।’

नेपालका रवीन्द्र ढाटले भारतको नोएडामा भएको म्याट्रिक्स फाइट नाइट (एमएफएन) १७ मा बान्टमवेट च्याम्पियनको उपाधि जितेका थिए । सम्मान ग्रहणपछि ढाटले महानगरपालिकाको सम्मानले आफूलाई थप हौसला मिलेको बताए । उनले भने- ‘हजुरहरूले खेलाडीलाई सम्मान गर्नुभएकोमा म धेरै खुशी छु । अब आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्ने कोसिस गर्नेछु । यो सम्मानले हामीलाई अगाडि बढ्न थप प्रेरणा दिन्छ ।’

रवीन्द्र ढाटले भारतका चोंगरेंग कोरेनलाई तेस्रो राउन्डमा पराजित गर्दै यो उपाधि हासिल गरेका थिए । यो जितले रवीन्द्रको व्यावसायिक रेकर्ड ८–१ मा सुधार भएको छ भने कोरेनको पाँच फाइटको रेकर्ड तोडिएको छ । बझाङका रवीन्द्र यो उपाधि जित्ने पहिलो नेपाली फाइटर बनेका छन् ।





