स्पेनिस फुटबल ला लिगामा बार्सिलोना र रियाल सोसिडाड् बराबरीमा
भाद्र २५ गते, २०६८ मा प्रकाशित
स्पेनिस फुटबल ला लिगा अन्तर्गत गए रातीको खेलमा साविक विजेता बार्सिलोनालाई रियाल सोसिडाड्ले बराबरीमा रोकेको छ । सोसिडाड्को एनोएटामा एक मिनेटको अन्तरमा जाभी र सेस फब्रिगासले १-१ गोल गरेपछि बार्साले पहिलो हाफमा सोसिडाड्बिरुद्ध २-० को अग्रता बनाएको थियो । तर दोस्रो हाफमा इमानोल अजिररेट्से र एन्टोनी ग्राइजमानको १-१ गोलमा उत्कृष्ट पुनरागमन गरेपछि सोसिडाड्ले खेल बराबरीमा ल्यायो ।
यसैगरी, रियाल माड्रिडले गेटाफेलाई ४-२ ले पराजित गर्यो । रियाललाई जिताउन करिम बेन्जिमाले २ तथा क्रिश्टियानो रोनाल्डो र गोञ्जालो हिग्वेनले १-१ गोल गरे । गेटाफेका लागि मिकुले २ गोल गरे ।
ला लिगा अन्तर्गतकै अन्य खेलहरुमा भ्यालेन्सियाले एटलेटिको माड्रिडलाई १-० हरायो भने भिल्लारियाल र सेभियाले २-२ गोलको बराबरी खेले ।