




काठमाडौँ । तालिबानले अफगानिस्तानको बल्ख प्रान्तमा फाइबर अप्टिक इन्टरनेट पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ । तालिबान प्रवक्ता हाजी अताउल्लाह जैदले यो आदेश सर्वोच्च नेता हिबतुल्लाह अखुन्दजादाले दिएको बताएका छन् ।

तालिबानले अनैतिकता रोक्न यो कदम चालिएको बताएको छ । अगस्ट २०२१ मा सत्ता प्राप्त गरेपछि तालिबानले इन्टरनेटमा प्रतिबन्ध लगाएको यो पहिलो पटक हो ।

यस प्रतिबन्धका कारण, बल्ख प्रान्तमा सरकारी कार्यालय, निजी क्षेत्र, सार्वजनिक संस्था र घरहरूमा वाइफाइ इन्टरनेट सुविधा बन्द गरिएको छ । यद्यपि, मोबाइल इन्टरनेट भने चल्ने बताइएको छ ।

प्रवक्ताले आवश्यकताको लागि देश भित्र वैकल्पिक व्यवस्था गरिने बताए, तर उनले बल्ख किन रोजियो वा यो प्रतिबन्ध अन्य प्रान्तहरूमा पनि लागू हुने या हुदैन भन्ने स्पष्ट गरेका छैनन् ।
अफगान अधिकारीहरूले पहिले सुरक्षा कारणहरूले गर्दा, विशेष गरी धार्मिक चाडपर्वहरूमा, विस्फोटक उपकरणहरू सक्रिय हुनबाट रोक्नको लागि मोबाइल नेटवर्कहरू अस्थायी रूपमा बन्द गरेका छन् ।



