



-गोपाल प्रसाद भट्टराई , अर्घाखाँची।
कार्तिक–३०,अर्घाखाँची , अर्घाखाँचीको सन्धिखर्क–२ चुत्राबेसीमा प्रधान कार्यालय रहेको साथी बचत तथा ऋण सहकारी संस्थाको १३औं वार्षिक साधारणसभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

२ हजार ९ सय ८७ जना सेयर सदस्य रहेको सहकारीको साधारणसभाले अध्यक्ष रुद्र प्रसाद श्रेष्ठको नेतृत्वमा नयाँ संचालक समिति सर्वसहमतीले गठन गरेको हो । जसको उपाध्यक्ष डिलाराम भुसाल, सचिव विष्णु प्रसाद बन्जाडे र कोषाध्यक्ष मञ्जु आचार्य चयन हुनुभएको छ ।

यस्तै संचालकमा विना पन्थी, सुनिता भुसाल, कमल प्रसाद खनाल, कमल प्रसाद मरासिनी र कृष्ण पन्थी छनौंट हुनुभएको निर्वाचन समितका सदस्य कृष्ण वर्माले जानकारी दिनुभयो ।


साथी साकोसले निराजन बस्याल संयोजक, कृष्ण प्रसाद भुसाल र अस्मिता पोख्रेल सदस्य रहेको लेखा समिति गठन गरेको छ ।

नव निर्वाचित संचालक समितिको सपथ ग्रहण पछि आइतबार बसेको पहिलो बैठकले निबर्तमान अध्यक्ष प्रकास भुसाल संयोजक, पूर्व अध्यक्ष धर्मराज भुसाल र निवर्तमान संचालक काजी श्रेष्ठ सदस्य रहेको परामर्श समितिको गठन गरेको छ ।


साधारणसभाको उद्घाटन शत्रमा बोल्ने सहकारी कर्मीहरुले साथी साकोसले आर्थिक, सामाजिक तथा उत्पादनका क्षेत्रमा सार्थक गतिविधि गर्दै गएको बताएका छन् ।


सहकारी र बैंकबाट ऋण लगेर अनुत्पादक तथा फजुल क्षेत्रमा खर्च गर्ने प्रवृति बढ्दै गएकोप्रति सचेत गराउँदै उनिहरुले आर्थिक रुपमा सबल बन्नेगरि ऋण परिचालन गर्न आग्रह गरेका छन् ।

साधारणसभाले आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रगति प्रतिवेदन, आगामी निति तथा कार्यक्रम, प्रस्तावित बजेट र लेखा सुपरिवेक्षण प्रतिवेदन पारित गर्दै सहकारीलाई थप सुदृढ बनाउने संकल्प लिएको छ ।

साथी साकोसबाट गत बर्ष विभिन्न ८ किसिमका कर्जा शिर्षकमा ३ सय ७० जनाले १५ करोड ७ लाख रुपैंया ऋण लगेका छन् । सहकारीमा हाल २७ करोड ४९ लाख रुपैंको कुल सम्पति रहेको, २ करोड ६२ लाखको सेयर पुजि र २२ करोड १२ लाख कुल बचत रहेको देखिएको छ ।

सहकारीले गत आर्थिक बर्ष २०८१÷०८२ मा ४१ लाख रुपैंया खुद नाफा गरेको छ ।

साथी साकोस अहिलेसम्म डिभिजन सहकारी, नेफ्स्कुन, सन्धिखर्क नगरपालिका, राष्ट्रिय सहकारी बैंक बुटवलबाट पुरस्कृत भैसकेको सहकारीको परामर्श समितिका संयोजक प्रकाश भुसालको भनाई छ ।

सहकारीले सभाको अवसरमा ६ जना ज्येष्ठ सदस्य, ५ जना असल ऋणी सदस्य, ५ जना असल बचतकर्ता सदस्य, १ जना उद्यमी सदस्य, १ जना उत्कृष्ट कर्मचारी र पत्रकार सागर महत सहित १९ जनालाई सम्मान गरेको विमला के.सी.ले जानकारी दिनुभएको छ ।



