अर्घाखाँचीमा स्वास्थ्य बिमाप्रति आकर्षण बढ्दैः ९६ हजार बढि नागरिक आवद्ध

imagesimages

 

-गोपाल प्रसाद भट्टराई , अर्घाखाँची ।

मंसिर–०४,अर्घाखाँची – अर्घाखाँचीमा ९६ हजार बढि नागरिक स्वास्थ्य बिमामा आवद्ध भएका छन् । सामाजिक सुरक्षा अन्तर्गत सरकारले ल्याएको स्वास्थ्य बिमाप्रति यस जिल्लाका नागरिकको आकर्षण बढ्दै गएको हो । चालु आर्थिक बर्षको हालसम्म स्वास्थ्य बिमामा अर्घाखाँचीका ९६ हजार २ सय ५० नागरिक आबद्ध भएको स्वास्थ्य बिमा बोर्ड शाखा कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख राम बहादुर थापाले जानकारी दिनुभयो ।

सर्वसाधारणलाई गुणस्तरिय सेवा प्रदान गरी स्वास्थ्य सेवाको सुनिश्चित गर्ने लक्ष्यका साथ अर्घाखाँचीमा २०७५ साल फागुन १५ गतेदेखि २८औं जिल्लाको रुपमा स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको हो । कार्तिक २४ गते सम्मको तथ्याङ्क अनुसार पुरुष ४६ हजार ५ सय ९७ र महिला ४९ हजार ६ सय ५१ जना स्वास्थ्य बिमामा आबद्ध छन् ।

३ नगरपालिका र ३ गाउँपालिका गरी ६ स्थानीय तह रहेको अर्घाखाँचीमा २०७८ सालको जनगणना अनुसार १ लाख ७७ हजार २ सय जनसंख्या रहेको छ । हालसम्म यस जिल्लाका ५४ दशमलव ३५ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आबद्ध रहनुभएको थापाले बताउनुभएको छ ।

स्वास्थ्य बिमा कार्यक्रमको महत्व र प्रभावकारिता नागरिकले बुझ्न थालेपछि अर्घाखाँचीमा स्वास्थ्य बिमा गर्नेको संख्या बढिरहेको छ । यस जिल्लामा सबैभन्दा बढी सन्धिखर्क नगरपालिकाका नागरिक स्वास्थ्य बिमामा आबद्ध भएका छन् । स्वास्थ्य बिमा बोर्ड शाखा कार्यालय अर्घाखाँचीको तथ्याकं अनुसार सन्धिखर्कमा ७ हजार ८ सय ४२ घरपरिवारका २५ हजार २ सय ८४ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध हुनुभएको हो ।

छत्रदेव गाउँपालिकामा ५ हजार ७ सय ५४ घरपरिवारका १७ हजार ९ सय २५ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध हुनुभएको छ । पाणीनी गाउँपालिकामा ५ हजार २ सय ६५ घरपरिवारका १६ हजार ६ सय ३३ जना, शितगंगा नगरपालिकामा ५ हजार ४६ घरपरिवारका १६ हजार १ सय ८८ जना, मालारानी गाउँपालिकामा ३ हजार ७ सय २० घरपरिवारका १० हजार ३ सय ४६ जना र भूमिकास्थान नगरपालिकामा ३ हजार ३ सय ९४ घरपरिवारका ९ हजार ८ सय ७४ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध हुनुभएको छ । स्वास्थ्य बिमामा ३ हजार ५ सय रुपैंयामा १ परिवारका ५ सदस्यलाई बिमामा आबद्ध गराइ १ लाख रुपियाँ बराबरको औषधिउपचार निःशुल्क हुने गरेको छ ।

परिवार संख्या ५ जनाभन्दा बढी भएमा प्रतिव्यक्ति ७ सय रुपियाँका दरले प्रथम बिमा शुल्कमा थपिँदै जाने र सो रकमले २० हजार रुपियाँ उपचार खर्च प्राप्त हुने गर्दछ । हालसम्म शुल्क लाग्ने साधारण समूहतर्फ १४ हजार २ सय २१ परिवारका ६५ हजार ४ सय १० जना, ५० प्रतिशत छुटमा महिला स्वास्थ्य स्वयंसेविका ८ सय २६ परिवारका ३ हजार ८ सय ६८ जना स्वास्थ्य बिमामा आबद्ध हुनुहुन्छ ।

सरकारले ज्येष्ठ नागरिक, ‘क’ वर्गका अपाङ्ग र एचआइभी संक्रमितको निःशुल्क स्वास्थ्य बिमा गरिदिने गरेको छ । यो सुविधा अनुसार अर्घाखाँचीमा ज्येष्ठ नागरिक १२ हजार ७ सय ९६ जना, एचआइभी संक्रमित तर्फ ९८ परिवारका २ सय २५ जना, ‘क’ वर्गका अपाङ्गता भएका ५ सय ८६ परिवारका २ हजार ८९ जनाले निःशुल्क स्वास्थ्य बिमाको सुविधा लिनुभएको छ ।

यता सरकारले अर्घाखाँची सहित २६ जिल्लाका अति गरिब परिवारलाई पहिलो चरणमा निःशुल्क स्वास्थ्य बिमा गर्ने गरेकोमा आर्थिक बर्ष २०८०÷०८१ देखि यि जिल्लामा यो सुविधा रोकेको छ । पहिलो चरणमा यो बिशेष सुविधा पाएका नागरिकको सेवा कटौती गरि दोस्रो चरणमा २३ वटा नयाँ जिल्लामा सुविधा दिन थालेको छ । जसका कारण अर्घाखाँचीमा २ हजार ८ सय ४३ परिवारका ११ हजार ८ सय ६२ जनाको बिमा यस बर्ष नविकरण गर्न बाँकी रहेको स्वास्थ्य बिमा बोर्ड शाखा कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख राम बहादुर थापाको भनाई छ ।

 

Nepal life insurance