“सुरेली”

imagesimages

 

#सुरेली

-सरु सुधा , अर्घाखाँची।

कापी र कलमबिनाका
केही सुकोमल भविष्यहरू छन्
कुन चाहिँ पन्नामा कोरिदिऊँ
लक्ष्यसम्म पुग्ने मार्गचित्र?
दुई इन्च पुगनपुग लम्बाइ भएको सिसाकलम
कहाँसम्म तिखारूँ
कहाँ समात्न लगाएर लेखाऊँ ?
सुनौलो भोलि
कसरी बयान गरूँ ?
धनभन्दा विद्या ठूलो हुन्छ भनेर।

जब देख्छु नाकभरीको सिँगान
नङभरिको मयल
जकडिएका बाँसका जराझैँ जेलिएर
जुम्राका सन्तानवृद्धिमा तल्लीन
कपाललाई
व्यक्तिगत सरसफाइको तेल लगाइदिऊँ
कि गृहकार्य मागूँ?

जिन्दगीकै सपना चुहिने खतरा बोकेको झोलाको
प्वाल सिलाइदिऊँ कि
मिलाइदिऊँ जिन्दगीको हिज्जे?

“बा खै ?”
“थाछैन।”
“आमा खै?”
“पोइल।”
यी प्रश्नलाई परीक्षामा समावेश गरूँ कि नगरूँ?
बालमस्तिष्कमा लागेको हेलाको दाग
कुन चाहिँ इरेजरले मेटाइदिऊँ?

“आज के खायौ?”
“कालो चिया र बासी भात”
अब
“सन्तुलित भोजन” पाठमा कुन सामग्री प्रयोग गरूँ
र कस्ता क्रियाकलाप गराऊँ ?

images

बेइमानीको चोट पिउँदा पिउँदा
विकलताको पखाला र
नीरिहताको बान्ता गर्दै
मुर्झाएका अनुहारहरूलाई
“सन्चै छौ?” भनेर कसरी सोधूँ?

मेरा प्यारा विद्यार्थीहरूलाई
अभावको पुस्तकबाट समृद्धिको पाठ
पढाउनु छ मैले!!

images

शिक्षा नामको सुरिलो रुखमा
चढ्न र चढाउन
सबैतिर लिफ्ट र भर्‍याङ मात्रै छैनन्।

कतै कतै त सुरेली पनि खेल्नुपर्छ
मेरो देशमा !!!

images

 

Nepal life insurance