



-गोपाल प्रसाद भट्टराई , अर्घाखाँची।
मंसिर–२९,अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क स्थित संस्थागत विद्यालयका ३ हजार बढि विद्यार्थीको निःशुल्क मुटु परीक्षण गरिएको छ ।


बालबालिकाको मुटु, बाथरोग र जन्मजात मुटुसम्बन्धी समस्याको पहिचान गरी उपचारको पहुँचमा ल्याउने उद्देश्यका साथ विद्यार्थीको निःशुल्क मुटु परीक्षण गरेर परामर्श सेवा प्रदान गरिएको हो ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठान अर्घाखाँची शाखाको आयोजना र निजि विद्यालयको आर्थिक सहयोगमा सन्धिखर्कमा रहेका ५ वटा बोडिङ्ग स्कुलमा अध्ययनरत विद्यार्थि र अध्यापनरत शिक्षकहरुलाई समेत निःशुल्क मुटुको चेकजाँच तथा परामर्श सेवा प्रदान गरिएको नेपाल हृदयरोग निवारण प्रतिष्ठान अर्घाखाँची शाखा अध्यक्ष कृष्ण प्रसाद भुसालले जानकारी दिनुभएको छ ।


मंसिर २१ देखि २४ गतेसम्म चलेको शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सुमन्त बन्जाडेले मुटुको चेकजाँच गरेर आवश्यक परामर्श दिनुभएको छ । सन्धिखर्क स्थित अर्घाखाँची आवासिय मा.वि., सन्धिखर्क ग्रिन इङ्गिलस बोर्डिङ्ग स्कुल, गौरीशंकर इङ्गिलस बोर्डिङ्ग स्कुल, मदर ल्याण्ड इङ्गिलस बोर्डिङ्ग स्कुल र सन्धिखर्क इङ्गिलस बोर्डिङ्ग स्कुलका विद्यार्थि तथा शिक्षकहरुको मुटुको जाँच गरिएको हार्ट फाउण्डेसन अर्घाखाँचीका सचिव मेनुका पौडेलको भनाई छ ।

मुटुरोग बिशेषज्ञ डा.बन्जाडेले बालबालिकामा मुटु, बाथरोग र जन्मजात मुटुसम्बन्धी समस्याको पहिचान गरी उपचारको पहुँचमा ल्याउन यो कार्यक्रमले प्रभावकारी भूमिका खेल्ने विस्वाँस व्यक्त गर्नुभएको छ ।

५ वटा संस्थागत विद्यालयका विद्यार्थि र शिक्षक÷कर्मचारी गरि ३ हजार ४ सय ७३ जनाको मुटु परिक्षण गरिएकोमा ६ जना बालबालिकाको मुटुमा प्वाल भएको समस्या पहिचान भएको छ ।

नयाँ एक जना र पुराना ५ जना तर औषधि उपचार छाडेका गरि ६ जना बालबालिलाई थप उपचार र औषधि सेवनको लागि परामर्श दिइएको डाक्टर बन्जाडेको भनाई छ ।


शिविर मार्फत बालबालिकामा हुन सक्ने जन्मजात मुटुको रोग, घाँटीको सुरक्षा र प्रयाप्त सरसफाई नगर्दा हुने समस्या, टन्सिल तथा मुटु बाथरोगको समस्या छ कि छैन ? भनि पहिचान गर्ने र कुनैपनि समस्या भएमा समयमै उपचारको दायरामा ल्याएर मुटु जोगाउने कार्यलाई टेवा पुगेको विद्यालयका जानकार तथा अभिभावकले बताएका छन् ।

यसरी ३ देखि १४ बर्ष सम्मका बालबालिकामा कुनैपनि मुटुसंग सम्बन्धित समस्याको पहिचान भएमा सम्पूर्ण उपचार सरकारले निशुल्क गर्ने र समयमै उपचार पाउनाले ज्यान बच्ने सम्मको फाईदा पुग्ने डाक्टरहरुको भनाई छ ।

चिकित्सकका अनुसार किशोरावस्थामा घाँटीमा हुने सङ्क्रमणलाई बोलीचालीमा टन्सिल भएको भनिन्छ भने चिकित्सकीय भाषामा टन्सिलाइटिस भनिन्छ ।

यसले घाँटीको ग्रन्थीमा सङ्क्रमण भई सुन्निने, निल्न गाह्रो हुने, दुख्ने जस्ता समस्या निम्त्याउने गर्दछ । यो ‘स्ट्रेप्टोकोकस व्याक्टेरिया’का कारणले हुने डाक्टर बन्जाडेको भनाई छ । टन्सिलाइटिसको समयमा उपचार नभएमा मुटुको बाथ रोग लाग्नसक्छ ।

समयमै उपचार भयो भने त्यो समस्या पूर्णरुपमा निको हुने चिकित्सकको दाबी छ । मुटु स्वस्थ राख्न र मुटुरोग बाट बच्नको लागि घाँटीको सुरक्षा, सरसफाई, बस्ने कोठामा हावा तथा प्रकाश छिर्ने वाताबरण, जंक फुड तथा अस्वस्थ खानपानको निषेध, गर्भवती आमाले तनाव नलिने, कडा प्रकारको औषधि सेवन नगर्ने, धुम्रपान, मद्यपान जस्ता बिकारक वस्तुको सेवन नगर्ने जस्ता सावधानी अपनाउन डाक्टहरुको सल्लाह छ ।
थप तस्बिरः












