अर्घाखाँची: अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. ०५ बलेवाङमा भारतबाट आएर ‘हात हेराई’ दिने र अन्य शंकास्पद गतिविधिको बहाना बनाएर स्थानीय बासिन्दाहरूसँग पैसा उठाई ठगी गर्ने चार जना शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक झलक शर्माले पुष्टि गर्दै बताए कि उक्त चार जनालाई गाउँमा शंकास्पद रूपमा हिड्दै गरेको अवस्थामा स्थानीयको सूचनामा नियन्त्रणमा लिइएको हो। तिनीहरू भारतको उत्तर प्रदेश, बहराईच जिल्लाका निवासी हुन्।
पक्राउ परेकाहरू:
-
सेर सिंह (२० वर्ष) – नयाँ भगतपुरवा, भगतपुर बहराईच, उत्तर प्रदेश
-
सोनु (२३ वर्ष) – भगतपुरवा गणेशपुर, निन्नाहरा नवाथ गंज, अलियावाद, बहराईच, उत्तर प्रदेश
-
चमन (१९ वर्ष) – भगतपुरखा, भगतपुर बहराईच, उत्तर प्रदेश
-
राम करण (१९ वर्ष) – भगतपुरवा, भगतपुर बहराईच, उत्तर प्रदेश
शर्माका अनुसार, तिनीहरू विभिन्न बहानामा स्थानीयहरू नजिकै पुगेर हात हेराई दिने, भविष्य बताउने, वा अन्य सेवाको नाउँमा पैसा माग्ने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। तिनीहरूले सानो रकमबाट सुरु गरेर ठूलो रकम सम्म उठाउने प्रयास गरेको पनि पत्ता लागेको छ।

प्रहरीले पक्राउ परेका चार जनालाई जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद थप गराई अनुसन्धान कार्य जारी राखेको छ। उनीहरू कुन समूहसँग सम्बन्धित छन्, यसअघि कति ठाउँमा यस्तै गतिविधि गरिसकेका छन्, र नेपाल आउने उद्देश्य के रहेको थियो भन्ने विषयमा थप अनुसन्धान हुनेछ।
स्थानीयलाई सचेत रहन अपील:
प्रहरी निरीक्षक शर्माले स्थानीय बासिन्दाहरूलाई सचेत रहन अपील गर्दै , “अज्ञात व्यक्तिले हात हेराई, जादुटोना, वा भविष्य बताउने विभिन्न प्रलोभन दिएर पैसा उठाउने प्रयास गर्न सक्छन्। यस्तो देखिएको खण्ड्मा प्रहरीलाइ खबर गर्न अनुरोध पनि गर्नु भएको छ।
यो घटनाले सीमा क्षेत्रमा हुने अनियमित आवतजावत र त्यसबाट हुन सक्ने अपराधिक गतिविधिको बारेमा फेरि एक पटक चेतावनी दिएको छ। प्रहरीले सीमा नियन्त्रण र अनियमित रूपमा आउने जनालाई निगरानी गर्ने कार्य बलियो बनाउने बताएको छ।
समाचार स्रोत : अर्घाखाँची प्रहरी कार्यालय