



काठमाडौँ । भारतमा आर्थिक अपराधी घोषित विजय माल्या र ललित मोदी बेलायतमा एक साथ देखिएका छन् । दुवै एउटा भिडियोमा एक साथ देखिएका छन् र यो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यसमा ललित मोदीले आफूलाई र माल्यालाई भारतका दुई ठूला भगोडा भनेका छन् । माल्याको जन्मदिनको अवसरमा ललित मोदी पनि एक साथ देखिएका थिए । मोदी आफैंले डिसेम्बर २२ मा सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमा उनले माल्यासँगै आफुपनि भारतको सबैभन्दा ठुलो भगौडा भएको बताएका छन् ।

ललितले आफ्नो पोस्टमा लेखेका छन्- ‘आउनुहोस्, म फेरि इन्टरनेट हल्लाउनेछु । विशेष गरी तपाईं मिडियाका मानिसहरूका लागि । ईर्ष्याका साथ हेर्नुहोस् ।’ सो भिडियोमा माल्या आफ्नी पार्टनर पिंकी लालवानीसँग मुस्कुराउँदै देखिएका छन् ।
विजय माल्या २०१६ देखि बेलायतमा छन् र २०१९ मा आधिकारिक रूपमा भगौडा आर्थिक अपराधी घोषित भएका थिए । यसैबीच, ललित मोदी २०१० देखि विदेशमा बस्दै आएका छन् र कर छली, मनी लान्ड्रिङ र आईपीएलसँग सम्बन्धित गम्भीर आरोपहरूको सामना गरिरहेका छन् ।
भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले माल्याको प्रत्यर्पणको प्रक्रिया अन्तिम चरणमा रहेको बताएको छ । माल्याका वकिलले बैंकहरूप्रतिको वित्तीय दायित्व पर्याप्त रूपमा असुल भएको दाबी गरेका छन्, तर अदालतले अदालतमा उपस्थित नभई आपराधिक जिम्मेवारीबाट मुक्त हुन नसक्ने बताएको छ । मुद्दाको अर्को सुनुवाइ फेब्रुअरी १२, २०२६ मा हुनेछ ।

ललित मोदी २००५ देखि २००९ सम्म राजस्थान क्रिकेट संघका अध्यक्ष थिए। २००८ मा, उनले आईपीएल सुरु गरे। बीसीसीआईले उनलाई आईपीएलको अध्यक्ष र आयुक्त नियुक्त गर्यो। २०१० मा, ललितमाथि आईपीएलमा भ्रष्टाचारको आरोप लगाइएको थियो ।

त्यस्तै ललित मोदीले मोरिससस्थित कम्पनी वर्ल्ड स्पोर्ट्सलाई ४२५ करोडको आईपीएल ठेक्का दिएका थिए । मोदीमाथि १२५ करोडको कमिशन लिएको आरोप लगाइएको थियो । दुई नयाँ टोलीको लिलामीको क्रममा उनले अनुचित माध्यम प्रयोग गरेको पनि आरोप लगाइएको थियो । २०१० मा, भारतीय क्रिकेट कन्ट्रोल बोर्डले आईपीएलको तेस्रो सिजनको फाइनलपछि ललित मोदीलाई निलम्बन गरेको थियो । त्यसपछि ललित मोदी २०१० मा भारतबाट लन्डन भागेका थिए ।



