



काठमाडौँ । टर्कीका विदेशमन्त्री हाकान फिदानले अन्कारामा हमासको एक प्रतिनिधिमण्डलसँग भेटवार्ता गर्नुभएको छ । खलील अल–हैयाको नेतृत्वमा रहेको उक्त टोलीसँग गाजाको पछिल्लो अवस्था र प्रश्तावित शान्ति योजनाको दोस्रो चरणका विषयमा विस्तृत छलफल भएको अर्ध–सरकारी समाचार एजेन्सी अनादोलुले जनाएको छ । परराष्ट्र मन्त्रालयका स्रोतहरूलाई उद्धृत गर्दै अनादोलुले जनाएअनुसार मन्त्री फिदानले टर्कीले प्यालेस्टिनी जनताको अधिकारको रक्षाका लागि निरन्तर आवाज उठाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले गाजामा आश्रय र मानवीय आवश्यकताहरू पूरा गर्न टर्कीले गरिरहेका प्रयासहरूबारे पनि प्रतिनिधिमण्डललाई जानकारी गराउनुभयो । छलफलका क्रममा हमास प्रतिनिधिमण्डलले आफूहरू युद्धविरामका शर्तहरू पालना गरिरहेको दाबी गर्दै इजरायलले गाजामा आक्रमण जारी राखेको र शान्ति योजनाको दोस्रो चरणमा जान अवरोध सिर्जना गरेको आरोप लगाएको छ ।

प्रतिनिधिमण्डलले गाजा प्रवेश गर्ने करिब ६० प्रतिशत ट्रकहरूले व्यापारिक सामान बोक्ने गरेको तर औषधि, इन्धन र खाद्यान्न जस्ता अत्यावश्यक मानवीय सहायता अझै अपर्याप्त रहेको गुनासो गरेको छ । यसका साथै, प्यालेस्टिनी गुटहरूबीचको मेलमिलाप र वेस्ट बैंकको अवस्थाबारे पनि छलफल भएको थियो, जहाँ इजरायली कदमहरूलाई अस्वीकार्य भनिएको छ । अमेरिका, इजिप्ट, कतार र टर्कीको मध्यस्थतापछि अक्टोबर १० देखि इजरायल र हमासबीच लामो समयदेखि प्रतिक्षित युद्धविराम लागू भएको छ ।



