



-गोपाल प्रसाद भट्टराई ,अर्घाखाँची।
अर्घाखाँची , पौष १ – अर्घाखाँचीको शितगंगा नगरपालिका–११ बोक्सेमा १४ थान ग्रिनेट सहित ८ किसिमका बिष्फोटक पदार्थ फेला परेका छन् । जिल्ला प्रहरी प्रमुख डिएसपी दिवस बहादुर जि.सी.को कमाण्डमा शुक्रबार ग्रामीण क्षेत्रको गस्ती गर्ने क्रममा बोक्से स्थित पुरानो कोही नबस्ने थारेगोठमा वेवारिसे अवस्थामा ति हतियार फेला परेका हुन् ।


गस्तीटोलीले फेला परेका बिष्फोटक सामग्रीमा भरुवा बन्दुक २ थान, ग्रिनेट १४ थान, डेटोनेटर १२ थान, प्लास्टिकको पाइप (२५ इन्च लामो लन्चर जस्तो देखिने) ३ थान, ५ लिटरको प्रेशर कुकर बम १ थान, स्टिलको डोलु बम १ थान, बिजुलीको तार ४ बण्डल र बारुद करिब ५ सय ग्राम रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

फेला परेका भरुवा बन्दुक २ थान बाहेक अन्य सबै बिष्फोटक पदार्थहरू नेपाली सेनाको सहयोगमा सुरक्षित रूपमा डिस्पोज गरिएको प्रहरीको भनाई छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।



