पशुपतिनाथको दोश्रो रुप मानिने नुवाकोट जिल्लाको प्रसिद्ध धार्मिकस्थल दुप्चेश्वर महादेवको मेला सुरु भएको छ । हिजोबाट सुरु भएको मेला आइतवारसम्म सञ्चालन हुने छ ।
जिल्ला सदरमुकामदेखि ३५ किलोमिटर पूर्वको राउतवेशी गाविसको गौचरनमा रहेको मन्दिरमा विशेषत सन्तान नहुनेहरू सन्तान माग्न आउने गरेको विश्वास गरिन्छ ।
पौराणिक कथनअनुसार चार सय वर्षअघि स्थानीय एक तामाङको दुहुनो गाई गोठालोमा हराएपछि खोजी गर्दै जाँदा पहरोमा दुध चढाइरहेको भेटिएकाले उक्त ठाउँमा दुग्धेश्वर महादेव रहेको विश्वासमा प्रत्येक वर्ष धान्य पूर्णिकाका दिन विशेष मेला लाग्दै आएको छ ।
मेला भर्न राजधानी काठमाडौं, धादिङ, रसुवालगायत मुलुकका विभिन्न भागबाट भक्तजन पुग्ने गर्दछन् । मेलामा तामाङ, शेर्पा जातिका परम्परागत संस्कृतिको प्रदर्शन र स्थानीय उत्पादनहरूको बिक्री वितरण समेत हुने गरेको छ ।