



-केशब पन्थी ,अर्घाखाँची डटकम ।
सन्धिखर्क – अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कस्थित कुडुले फाटमा भव्य कृषि–पर्यटन महोत्सव आयोजना हुने भएको छ।

चेम्बर अफ कमर्स अर्घाखाँचीको आयोजना र समन्वयमा, महोत्सव पौष २७ देखि माघ ११ सम्म सञ्चालन हुने तयारी भइरहेको छ।

महोत्सवको मुख्य उद्देश्य स्थानीय कृषि उत्पादन, पर्यटन प्रवर्द्धन र घरेलु तथा साना उद्योगलाई प्रोत्साहन गर्नु हो। चेम्बर अफ कमर्सका जिल्ला अध्यक्ष अशोक श्रेष्ठका अनुसार, महोत्सवले कृषक, व्यवसायी र पर्यटकलाई आकर्षित गर्दै, आर्थिक र सांस्कृतिक रूपमा क्षेत्रलाई समृद्ध बनाउने लक्ष्य राखेको छ।

महोत्सवको तयारीका क्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालासहित सरोकारवालासँग छलफल पनि सम्पन्न भइसकेको छ। यस महोत्सवमा स्थानीय कृषि उत्पादन, घरेलु उद्योगका सामग्री, सांस्कृतिक कार्यक्रम, मनोरञ्जनात्मक गतिविधि र पर्यटन प्रवर्द्धनका स्टलहरू राखिने तयारी छ।

स्रोतका अनुसार, कुडुले फाटमा कृषि–पर्यटन महोत्सव हुने लगभग निश्चित भइसकेको छ। महोत्सवले अर्घाखाँचीको सांस्कृतिक पहिचान, कृषि विविधता र पर्यटन सम्भावनालाई देश–विदेशमा प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरिएको छ।
थप तस्बिर :





