



-अनिल नेपाली , अर्घाखाँची डटकम।
अर्घाखाँची – जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना कम गर्न र सडक सुरक्षा सुनिश्चित गर्न गाउँ–गाउँमा ट्राफिक सचेतना अभियान सुरु गरेको छ।

हालै ग्रामीण क्षेत्रमा ट्राफिक नियम उल्लङ्घन गरी दुर्घटना बढ्ने जोखिम बढेको देखेर, प्रहरी नायब निरीक्षक सरोज केसी स्वयं गाउँ–गाउँमा गई चालक, सहचालक र स्थानीय जनतालाई सचेतना दिँदै हुनुहुन्छ।

बिहीवार पाणिनी गाउँपालिकामा आयोजित कार्यक्रममा, केसीले सवारी चलाउँदा ध्यान दिनुपर्ने कुराहरू, सार्वजनिक यातायात प्रयोग गर्दा यात्रुले पालना गर्नुपर्ने नियम र दुर्घटनाबाट कसरी बच्ने भन्ने विषयमा जानकारी दिनुभयो।

गाउँघरमा निर्माण भएका नयाँ कालोपत्रे सडकमा ट्रिपर, ट्रक, मोटरसाइकल र कार तीव्र गतिमा गुड्दा दुर्घटना हुने जोखिम बढ्ने भएकाले यसलाई न्यूनीकरण गर्न अभियान सञ्चालन गरिने जानकारी पनि दिइयो।


अभियानले ग्रामीण क्षेत्रमा ट्राफिक नियमको प्रभावकारिता बढाएको र स्थानीयमा सडक सुरक्षा सम्बन्धी चेतना फैलाएको छ। सरोज केसीले नियम विपरीत काम गर्ने व्यक्तिलाई छोड्ने छैनन् र सबैलाई सुरक्षित रहन आग्रह गर्नुभएको छ।



