राजधानीमा आज भरिया सम्मेलन सम्पन्न भएको छ । श्रमिक अधिकार र सामाजिक सुरक्षाको ग्यारेन्टीको माग गर्दै काठमाडौको न्युरोडमा आज भएको पहिलो भरिया सम्मेलनले रोल्पा घर्ति गाउंका भरिया अमर केसीको नेतृत्वमा १५ सदस्यीय भरिया संयोजन समिति गठन गरेको छ । समितिको उपसंयोजकमा सिन्धुली तोश्रामखोलाका भरिया मीनबहादुर मश्रांगीमगर, सचिवमा दोलखाका विपल थापा र कोषाध्यक्षमा धादिङका किशोर भट्ट छन् । त्यसैगरी सदस्यहरुमा काठमाडौ पशुपति प्लाजाका रविन्द्र नेपाली, नुवाकोटका बीर बहादुर तामाङलगायत छन् ।
भरियाहरुले पेशागत सम्मान, भारी र दुरी अनुसार ज्याला निर्धारण हुनुपर्ने, सामाजिक सुरक्षाको ब्यवस्था हुनुपर्ने, दुर्घटना विमा र स्वास्थ्य उपचार हुनुपर्ने, रासन कार्डको ब्यवस्था गरिनु पर्ने लगायतका माग पनि अघि सारेका छन् ।
भरिया सम्मेलनमा बोल्दै अखिल नेपाल ट्रेड युनियन महासंघका महासचिव गणेश रेग्मीले भरिया लगायतका असंगठित श्रमिकहरुलाई समेट्न श्रम ऐनसहितका ६ वटा ऐनहरुमा परिमार्जनको पहल भईरहेको जानकारी दिनुभयो ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्टका प्रतिनिधि सुमन पराजुलीले भरियालाई न्योचित ज्याला र सामाजिक सुरक्षाको ग्यारेन्टी गर्न आफ्नो संगठनले अग्रसरता लिने बताउनु भयो ।
कार्यक्रममा जनगायक जेवी टुहुरेले भरियाको पीडा र ब्यथाले भरिएका गीतहरु प्रस्तुत गर्नुभएको थियो । सम्मेलनमा १० जिल्लाका २ सय १३ जना भरियाको सहभागिता रहेको थियो ।
सम्मेलन शुरु हुनु अघि भरियाहरुले न्युरोड गेटबाट जुलुस समेत निकालेका थिए ।
एक्सन एड नेपाल, मानवअधिकार तथा विकास केन्द्र र नेपाल राष्ट्रिय सडक मजदुर युनियनले संयुक्त रुपमा भरिया सम्मेलन आयोजना गरेका थिए ।



