आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

 

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

Nepal life insurance

१- बर्दियाको बारबर्दिया नगरपालिकास्थित भवन तथा बस्ती बिकास शाखामा कार्यरत इन्जिनियर डेढ लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भवन तथा बस्ती बिकास शाखामा कार्यरत इन्जिनियर मोहन देव मल्लले वडा नम्बर ७ मा रहेको जनता माध्यामिक बिद्यालय रम्भापुरको ४ कोठे भवन निर्माण कार्यको अन्तिम बिल भुक्तानीको लागि सहजीकरण गरिदिए बापत सेवाग्राहीसँग डेढ लाख घुससहित पक्राउ गरेको जानकारी दिएको छ । उनलाई घुस रकमसहित बारबर्दिया नगरपालिकाको भवन तथा बस्ती बिकास शाखाबाट विहिबार पक्राउ गरेको जानकारी दिएको छ ।

२- भारतको आर्थिक वर्ष २०२५-२६ को आर्थिक सर्वेक्षण तल्लो सदन लोकसभामा प्रस्तुत गरिएको छ । मुख्य आर्थिक सल्लाहकार वी. अनन्त नागेश्वरनको नेतृत्वमा तयार पारिएको यो सर्वेक्षण प्रतिवेदनले भारतीय अर्थतन्त्रको पछिल्लो तस्वीर प्रस्तुत गरेको छ । आर्थिक सर्वेक्षण अनुसार भारतको वृद्धि दर बलियो भएको छ भने मुद्रास्फीतिमा उल्लेखनीय राहत मिलेको छ । अर्थमन्त्री निर्मला सीतारमणले जनवरी २९ मा लोकसभामा देशको आर्थिक रिपोर्ट कार्ड मानिने आर्थिक सर्वेक्षण प्रस्तुत गरेकी हुन् ।  सर्वेक्षणले २०२६-२०२७ को आर्थिक वर्षमा जीडीपी वृद्धि ६.८ प्रतिशतदेखि ७.२ प्रतिशतको दायरामा रहने अनुमान गरिएको छ । आर्थिक सर्वेक्षण अनुसार, आरबीआई र आईएमएफले आगामी वर्षमा मुद्रास्फीति क्रमशः बढ्ने अनुमान गरेका छन् । यो ४ प्रतिशत (± २ प्रतिशत) को लक्ष्य दायरा भित्र रहने उल्लेख छ । डिसेम्बर २०२५ मा, आरबीआईले राम्रो खरीफ फसल र रबी रोपाइँमा सुधार भएको कारणले आर्थिक वर्ष २०२६ को लागि मुद्रास्फीति पूर्वानुमान २.६ प्रतिशतबाट घटाएर २ प्रतिशतमा झरेको थियो । सर्वेक्षणले जारी विश्वव्यापी तनाव र अस्थिरताको बावजुद, भारतीय अर्थतन्त्र बलियो रहेको देखाएको छ । सर्वेक्षण अनुसार, चालू आर्थिक वर्षमा वृद्धि दर ७.४ प्रतिशत हुने अपेक्षा गरिएको छ, जुन आरबीआईको ७.३ प्रतिशतको अनुमान भन्दा बढी हो । त्यस्तै आर्थिक वर्ष २०२६ को दोस्रो त्रैमासिक अर्थात् अप्रिल-जुन २०२५ मा भारतमा १५ वर्षभन्दा माथिका ५६ करोड २० लाख मानिसहरूलाई रोजगारी दिइएको थियो ।

आर्थिक वर्ष २०२६ को पहिलो त्रैमासिक (अप्रिल-जुन २०२५) को तुलनामा दोस्रो त्रैमासिक (जुलाई-सेप्टेम्बर २०२५) मा लगभग ८.७ लाख नयाँ रोजगारी सिर्जना भएको थियो । कर सुधार, नियमहरूको सरलीकरण र राज्यहरूद्वारा लागू गरिएका श्रम सुधारहरूले औद्योगिक र सेवा क्षेत्रमा भर्ती बढाएको छ भने गिग काम पनि आयको प्रमुख स्रोतको रूपमा देखा परेको रिपोर्टमा उल्लेख छ । भारतको आधा जनसंख्या कृषिमा निर्भर छ । आर्थिक सर्वेक्षणले आर्थिक वर्ष २०२६ मा कृषि वृद्धि ३.१ प्रतिशत हुने अपेक्षा गरेको कुरा प्रकाश पारेको छ । प्रतिवेदनले २०२४-२५ मा अन्न उत्पादन ३३.२ मिलियन टनको रेकर्ड स्तरमा पुगेको उल्लेख गरेको छ, जसले मुद्रास्फीति नियन्त्रण गर्न उल्लेखनीय रूपमा मद्दत गरेको छ । सरकारको ध्यान अब उत्पादन बढाउनमा मात्र नभई किसानहरूको आय सुरक्षित गर्ने र भण्डारण सुविधाहरू सुधार गर्ने कुरामा रहेको बताएको छ । केन्द्र सरकारले आफ्नो वित्तीय घाटा न्यूनीकरण लक्ष्य निर्धारित समयभन्दा अगाडि नै हासिल गरेको छ । आर्थिक वर्ष २०२५ मा, यो जीडीपीको ४.८ प्रतिशत थियो, जबकि सरकारले आर्थिक वर्ष २०२६ को लागि ४.४ प्रतिशतको लक्ष्य राखेको छ । सरकारले आफ्नो आयभन्दा बढी खर्च गर्ने रकमलाई वित्तीय घाटा भनिन्छ । कम घाटा भनेको बलियो अर्थतन्त्र र कम मुद्रास्फीति हो । त्यसैगरी विश्वव्यापी मन्दीको संकेतका बीच, भारतको विदेशी मुद्रा सञ्चिति २०२३-२०२४ मा ६६८ अर्ब डलर रहेको थियो । २०२४-२०२५ मा यो बढेर ७०१ अर्ब डलर पुगेको छ । यी सञ्चितिहरू जति धेरै भरिन्छन्, डलरको तुलनामा रुपैयाँ त्यति नै बलियो हुनेछ । विश्वव्यापी व्यापारमा अनिश्चितताको बावजुद, भारतको कुल निर्यात (वस्तु र सेवा दुवै सहित) आर्थिक वर्ष २०२५ मा ८२५.३ अर्ब डलरको कीर्तिमानी उच्चतम स्तरमा पुगेको छ । यो गति आर्थिक वर्ष २०२६ मा पनि जारी रहने अपेक्षा गरिएको छ । आर्थिक सर्वेक्षणमा, सरकारले अमेरिकाले ५० प्रतिशत भन्सार लगाएको बावजुद, अप्रिल-डिसेम्बर २०२५ मा भारतको सामानको निर्यात २.४ प्रतिशतले बढेको छ । यसैबीच, सेवा निर्यातमा ६.५ प्रतिशतले वृद्धि भएको छ । भारतले संयुक्त राज्य अमेरिकामा आफ्नो निर्भरता कम गर्न आफ्नो रणनीति परिवर्तन गरेको छ । सोहि रणनीति अनुसार सर्वेक्षणले भारतले युरोपेली संघ (इयू) सँग व्यापार सम्झौतालाई अन्तिम रूप दिएको बताएको छ । यसका साथै, गत वर्ष बेलायत, न्यूजील्याण्ड र ओमानसँग व्यापार सम्झौताहरू पनि हस्ताक्षर गरिएका छन्, जसले भारतीय निर्यातकर्ताहरूलाई नयाँ बजार प्रदान गरेको छ । भारतमा पहिलो आर्थिक सर्वेक्षण १९५१ मा गरिएको थियो । यो त्यतिबेला संघीय बजेटको हिस्सा थियो । १९६४ देखि, यसलाई बजेटबाट अलग गरिएको छ । त्यसबेलादेखि, आर्थिक सर्वेक्षण बजेट दिनको एक दिन अघि संसदमा प्रस्तुत गर्ने गरिएको छ ।

३- भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओमा ३७ गुणा आवेदन परेको छ । माघ १२ गतेदेखि १५ गतेसम्म खुला गरिएको आइपिओमा ३ करोड ७ लाख ८४ हजार ८२० कित्ता शेयरका लागि आवेदन परेको हो । सर्वसाधारणका लागि खुला गरिएको ८ लाख ३० हजार कित्ता शेयरका लागि ३७ गुणा भन्दा बढी कित्ताका लागि आवेदन परेको छ । कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये कम्पनीले १० लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र १ लाख कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ । कम्पनीले दोस्रो चरणमा कर्मचारीहरुका लागि २० हजार कित्ता र सामूहिक लगानी कोषहरुका लागि ५० हजार कित्ता शेयर सुरक्षित राखी बाँकी रहेको ८ करोड ३० लाख रुपैयाँबराबरको ८ लाख ३० हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको हो । आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग सिंगल बी प्लस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

४-  राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन् । गत माघ ५ गते मधेस प्रदेशको जनकपुरमा आयोजित कार्यक्रममा देब्रे खुट्टामा लागेको चोटमा सङ्क्रमण (सेलुलाइटिस) भएपछि मंगलबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए । लामिछानेको स्वास्थ्यावस्थामा सुधार आएसँगै आज डिस्चार्ज गरिएको हो । अस्पताल भर्ना भएको खबर बाहिरिएसँगै शुभचिन्तकको भिड बढेपछि केहि सुधार हुनासाथ आज उनी डिस्चार्ज भएको उनको सचिवालयले जनाएको छ ।

५-  रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिन अस्वीकार गरेको छ । जिल्ला अदालतले लामिछानेसहित प्रतिवादी रहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता गर्न अस्वीकार गरेको हो । महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएकाले सो रिटको अन्तिम आदेश नआएसम्म जिल्ला अदालतले मुद्धा तत्काल फिर्ता गर्न अस्वीकार गरेको हो । यसअघि महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिन सम्बन्धित सरकारी वकिलहरूलाई स्वीकृति दिएको थियो ।

६- राष्ट्रपति रामचन्द्र पौडेल जापान भ्रमणमा जाने भएका छन् । नेपाल र जापानबीचको कूटनीति सम्बन्ध स्थापना भएको ७०औं वर्षको उपलक्ष्यमा आयोजना हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल नेतृत्वको टोली जापान जान लागेको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको माघ १८ देखि २१ गतेसम्म हुने जापान भ्रमणलाई स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओम प्रकाश अर्यालले जानकारी दिएका छन् । नेपाल र जापानबीच २०१३ भदौ १७ (१ सेप्टेम्बर १९५६) मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

७- गृहमन्त्री ओमप्रकाश अर्याल र निर्वाचन आयोगका पदाधिकारीहरूबीच निर्वाचन केन्द्रीत छलफल भएको छ । विहिबार भएको छलफलमा निर्वाचन आचारसंहिताको पूर्ण परिपालना गराउने तथा सुरक्षा व्यवस्था सुदृढ बनाउने विषयमा छलफल भएको थियो । छलफलमा आयोगका तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन लक्षित शान्ति सुरक्षा र प्रभावकारी अनुगमनको आवश्यकता औँल्याएका थिए । सो अवसरमा गृहमन्त्री अर्यालले निर्वाचनका लागि सुदृढ शान्ति सुरक्षाको व्यवस्था मिलाइएको जानकारी दिँदै दण्डहीनता कुनै पनि हालतमा सह्य नहुने स्पष्ट पारेका थिए । उनले आचारसंहिता उल्लङ्घन लगायतका अवाञ्छित गतिविधि निस्तेज पार्न र आचारसंहिता परिपालनाको सूक्ष्म अनुगमन गर्न मन्त्रालय मातहतका सम्पूर्ण निकायहरूलाई पूर्ण रूपमा परिचालन गर्ने प्रतिबद्धता समेत जाहेर गरेका थिए ।

८-  कोशी प्रदेशको प्रदेश अधिवेशन आव्हान भएको छ । विहिबार प्रदेश प्रमुख पर्शुराम खापुङले माघ २५ गते दिउँसो २ बजेदेखि प्रदेशसभाको बैठकको आह्वान गरेका हुन् । आन्तरिक मामला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार हाल प्रदेशसभाको आफ्नै भवन र सचिवालय निर्माणाधीन अवस्थामा रहेकाले वैकल्पिक व्यवस्था स्वरूप विराटनगरस्थित वीरेन्द्र सभागृहमा अधिवेशन सञ्चालन गरिने तयारी सरकारको रहेको छ । प्रदेश सरकारले मासिक ८ लाख रुपैयाँ भाडा तिरेर सभागृहमा प्रदेशसभाको बैठक सञ्चालन गर्ने भएको छ ।

९- सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको माघ १८ देखि २१ गतेसम्म हुने जापानको औपचारिक भ्रमण स्वीकृत गरेको छ । नेपाल जापान कुटनीतिक सम्बन्ध स्थापना भएको ७०औं बर्ष पुगेको अवसरमा राष्ट्रपति पौडेल जापान भ्रमणमा जान लागेको र सो भ्रमण मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका हुन् । त्यस्तै विहिबारको मन्त्रिपरिषद्को बैठकले नेपाल स्कट एक्सचेन्ज लिमिटेडको पुनर्संरचना सम्बन्धि सुझाव समितिको प्रतिवेदन सार्बजनिक गर्ने निर्णय गरेको छ भने २०८२ फागुन १ गतेदेखि लागु हुने गरि नेपाल प्रहरीको रासन स्केल र रासन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको प्रवक्ता अर्यालले जानकारी दिएका छन्  ।

१०- भारतले नेपाललाई निर्वाचन सम्बन्धी सहयोगको दोस्रो खेप स्वरुप २५० भन्दा बढी एसयूभी र डबल–क्याब पिकअप सवारी साधनहरु नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।  विहिबार भारतका कार्यवाहक राजदूत राकेश पाण्डेले अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई २५० भन्दा बढी एसयूभी र डबल–क्याब पिकअप सवारी साधनहरु नेपाल सरकारलाई हस्तान्तरण गरेका हुन् । नेपाल सरकारको अनुरोधका आधारमा भारत सरकारले आगामी निर्वाचनको तयारीका लागि सवारी साधन र अन्य सामग्रीहरु उपहारस्वरुप प्रदान गरेको भारतीय दुताबासले जनाएको छ । यस्तो सहायताको पहिलो खेप गत माघ ६ गते उपलब्ध गराएको थियो र आगामी हप्ताहरुमा थप सामग्रीहरु उपलब्ध गराइने बताएको छ ।

११- काठमाडौंको दरबारमार्गस्थित उडल्यान्ड होटल परिसरमा रहेको ब्लाक हाउस डान्स क्लवमा लागेको आगलागी नियन्त्रणमा आएको छ । आज बिहान १०:१५ बजेबाट सुरु भएको आगलागनी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । ब्लाक हाउस डान्स क्लवको भान्छाबाट सल्किएको आगो नियन्त्रण करिब ११:५४ बजे नियन्त्रणमा ल्याइएको थियो । सुरक्षाकर्मीसहित दमकलहरुले आगलागी नियन्त्रणमा लिएका थिए ।

१२- नेप्से आज दोहोरो अंकको गिरावट आएको छ । विहिबार नेप्से १७.५३ अंकले घटेर २७१४.०५  विन्दुमा पुगेर रोकिएको छ । आज ३२० कम्पनिका ३ करोड ५४ लाख ७७ हजार ९३९ कित्ता शेयर १४ अर्ब ५६ करोड ३१ लाख ३८ हजार ८६५ मा कारोबार भएको थियो । आज हाइड्रो, लगानी र म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज हिमाल दोलखा हाइड्रोको सबैभन्दा बढी ९.२३ प्रतिशतले बढेको छ भने शिवश्री हाइड्रोको शेयर ९.१९ प्रतिशतले बढेको छ ।  त्यसैगरी आज कर्पोरेट डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त र सप्तकोशी विकास बैंकको शेयरमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै आज सबै भन्दा बढी एनगाडी ग्रुप पावरको ५९ करोड ९९ लाख बराबरको कारोबार भएको छ भने एसवाई प्यानलको ५२ करोड २९ लाख कारोबार भएको छ ।

१३-  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपति प्रा.डा. संगिता सिंह भण्डारीसमेत १९ जना र हिमालयन मेडिटेक प्रालिविरुद्ध सिटी स्क्यान मेसिन खरिदमा अनियमितता गरेको आरोपमा मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले   राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिटी स्क्यान मेसिन खरिदमा ७ करोड ३१ लाख ८२ हजार ९८५ अनियमितता गरेको भन्दै विशेष अदालत, काठमाडौँमा मुद्धा दायर गरेको छ । अख्तियारले प्रतिष्ठानका तत्कालीन उपकूलपति प्रा.डा. संगिता सिंह भण्डारी, कामु रजिष्ट्रार कैलाश प्रसाद देव, निर्देशक डा. सागर पन्थी, रेडियोलोजी विभागका प्रमुख डा. बोम विसी, बोयोमेडिकल इन्जिनियर शरद भण्डारी, बोयोमेडिकल इन्जिनियर आशुतोष भण्डारी, कन्सल्टेन्ट बोयोमेडिकल इन्जिनियर अमित कुमार चौधरी, लेक्चरर डा. श्रीसिया पोखरेल, शाखा अधिकृतहरू झन्कार लामिछाने, लीला कुमारी देवकोटा र मेघ बहादुर अधिकारी, आई.टी. अफिसर हिरालाल भण्डारी, लेखा अधिकृत राजीब बस्नेत, फार्मेसी सुपरभाइजर कृष्ण प्रसाद जोशी, स्टाफ नर्स विन्दु पौडेल, फिजियोथेरापिष्ट पूजा ठाकुर, कम्प्यूटर असिस्टेन्ट सतिश बहादुर शाह, हिमालयन मेडिटेक प्रा.लि. तथा उक्त कम्पनीका मुख्य भई कार्य गर्ने अमर श्रेष्ठ र सन्जु राजकर्णिकारविरुद्ध मुद्धा दायर गरेको जानकारी दिएको छ । त्यस्तै अख्तियारले उनीहरुलाई जनही  ७ करोड ३१ लाख ८२ हजार ९८५ को बिगो माग गर्दै कानुन अनुसार कारवाहीको माग गरेको छ ।

१४- अफगानिस्तानको जनसंख्या दुई वर्षमा १२ प्रतिशतले बढेको छ । संयुक्त राष्ट्रसंघीय निकाय युएनएचसीआरका अनुसार, डिसेम्बर २०२३ देखि डिसेम्बर २०२५ सम्ममा लगभग ४८ लाख अफगानी आप्रवासी इरान र पाकिस्तानबाट आफ्नो देश फर्किएका छन् । यसले गर्दा देशमा जनसंख्यामा यति ठूलो परिवर्तन आएको हो । युएनएचआरका अनुसार २०२५ मा मात्र २७ लाख मानिसहरू अफगानिस्तानमा फर्किएका छन् । हरेक दिन औसत १० हजार मानिसहरू अफगानिस्तान फर्किरहेका छन् । गत गर्मीमा एकै दिनमा इस्लाम किला सीमाबाट ७० हजार मानिसहरू आफ्नो देश प्रवेश गरेका थिए । पाकिस्तान र इरानले अफगानी आप्रवासीहरूलाई जबरजस्ती निष्कासन गरिरहेको बताइएका बेला यस्तो आँकडा सार्बजनिक भएको छ । यसैबीच संयुक्त राष्ट्रसंघले यस विषयमा दुवै देशलाई अफगानी आप्रवासीलाई सहयोग गर्न आह्वान गरेको छ ।

१५- भारतको महाराष्ट्रका पूर्व उपमुख्यमन्त्री अजित पवारको अन्तिम संस्कार गरिएको छ ।  बुधबार महाराष्ट्रको बारामतीमा विमान दुर्घटनामा निधन भएका पवारको बारामतीको काटेवाडीस्थित विद्या प्रतिष्ठान मैदानमा राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिएको हो । उनलाई उनका दुई छोरा पार्थ र जय पवारले दागबत्ती दिएका थिए । अजितकी श्रीमती सुनेत्रा पवार, उनका दुई छोरा पार्थ र जय, उनका काका शरद पवार र उनकी छोरी सुप्रिया सुले अन्तिम संस्कारमा उपस्थित थिए । त्यस्तै भारतका केन्द्रीय गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष नितिन नवीन, केन्द्रीय मन्त्री नितिन गडकरी, गोवाका मुख्यमन्त्री प्रमोद सावन्त, पूर्व गृहमन्त्री सुशील कुमार शिन्दे, आन्ध्र प्रदेशका मन्त्री नारा लोकेश र महाराष्ट्र नवनिर्माण सेना प्रमुख राज ठाकरे पनि अन्तिम संस्कारमा पुगेका थिए । अन्त्येष्टिमा हजारौं मानिसहरू सहभागी थिए । बुधबार बिहान ८:४५ बजे पवारको चार्टर्ड विमान दुर्घटनाग्रस्त भएको थियो । ६६ वर्षका पवार सवार विमान बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा विमान दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा पवारका सुरक्षा गार्ड, दुई पाइलट र एक महिला चालक दलका सदस्यसहित पाँच जनाको मृत्यु भएको थियो । पवारको निधनमा महाराष्ट्रमा तीन दिनको राजकीय शोक घोषणा गरिएको छ ।

१६- नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले काँग्रेसले सद्भावलाई गास्ने काम गर्ने बताएका छन् । विहिबार रामेछाप कांग्रेसको कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति शर्माले भदौ २३ र २४ पछि नेपाली समाजमा अविश्वास बढेको र समाजमा टुटेको सद्भावलाई काँग्रेसले जोड्ने बताए । उनले काँग्रेसले पार्टीमा आमुल परिवर्तन गरेर निर्वाचनमा होमिएको बताउदै काँग्रेसले सद्भाव जोड्नेदेखि सुशासनको पक्षमा काम गर्ने दाबि गरे । उनले काँग्रेसले अहिले विगतमा गरेका राम्रा काम जनतामा लैजाने र गरेका गल्तिप्रति माफी माग्दै अगाडी बढ्ने स्पष्ट गरे । उपसभापति शर्माले सद्भाव, सुशासन र उन्नतिको मुद्धालाई अगाडी बढाउन काँग्रेसले सभापति गगन थापालाई अगाडी बढाएको बताए । उनले काँग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार रहका सभापति गगन थापालाई टुँडिखेलमा होस् या रंगशालामा होस् बहस गर्न पठाउन तयार रहेको बताए । उनले काँग्रेसको प्रधानमन्त्रीको उम्मेदवारसँग अनुभव पनि छ उत्साह पनि छ, संयम पनि छ, परिपक्कता पनि छ धैर्यता पनि छ र भिजन पनि रहेको बताए ।

१७-  नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । छातीमा संक्रमण भएपछि नेपाल बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका थिए । त्यहाँबाट उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा लगेर भर्ना गरिएको हो । जटिल समस्या नभए पनि चिकित्सकको सुझाव अनुसार अस्पताल भर्ना गरिएको सचिवालयले जानकारी दिएको छ । फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा नेपाल रौतहट-१ बाट उम्मेदवार बनेका छन् ।

१८- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको तोलाको २० हजार ५ सयले बढेर तोलाको ३ लाख ३९ हजार ३ सयमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि बुधबार सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २०५ रुपैयाँले बढेर तोलाको ७५०५ रुपैयाँमा कारोबार भइरहेको छ । यो चाँदीको अहिलेसम्मको उच्च मुल्य हो । यसअघि बुधबार चाँदी तोलाको ७३०० रुपैयाँमा कारोबार भएको थियो ।

images

१९- नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ दिदै कम्युनिस्ट आन्दोलनमा प्रयोग गर्दा गर्दा थोत्रो भइसकेको काम नलाग्ने जालझेलको बासी र असफल हुइयाँ मात्र भएको बताएका छन् ।  प्रचण्डले बुधबार विप्लवलाई अब यताउता नलागेर एकतामा आउन गरेको आव्हानको जवाफ दिदै विप्लवले आफ्नो धारणा राख्दै यस्तो जवाफ दिएका हुन् ।   विपल्वले सबै कम्युनिस्ट पार्टीबीच मोर्चा र सहकार्य, सिद्धान्त, कार्यदिशा, कार्यक्रम र उद्देश्य मिल्नेसँग एकता गर्ने भन्दै उनले मालेमाओवादी पार्टीको सुदृढीकरण नै पार्टीको मूल नीति रहेको उल्लेख गरेका छन् । उनले भनेका छन्:  कम्युनिस्ट आन्दोलन बारे हाम्रो स्पष्ट धारणा छ:- १) सबै कम्युनिस्ट पार्टीहरूका बीचमा मोर्चा र सहकार्य । २) सिद्धान्त, कार्यदिशा, कार्यक्रम र उद्देश्य मिल्नेसँग एकता र ३) मालेमावादी पार्टीको सुदृढीकरण । आज चुनावी मोर्चामा समेत सहकार्य गर्न तयार नहुने पार्टीले एकताको चर्चा गर्नु कम्युनिस्ट आन्दोलनमा प्रयोग गर्दा गर्दा थोत्रो भइसकेको काम नलाग्ने जालझेलको बासी र असफल हुइयाँ मात्र  हो‌ । यस्तो भ्रममा विचार मरेका, आँत सडेका, आश गुमाएका र आफ्नै इतिहासले चेपट्टीएका हुतिहारा मात्र पर्छ । अनेकौ मोर्चाका अनुभवसहित समाजवादी गन्तव्यमा अग्रसर माओवादी पार्टी नै एकता, अग्रगमन र संभावनाको केन्द्र हो । आउदो भविष्यले अवश्य सावित गर्नेछ ।

२०-  युइएफए च्याम्पियन्स लिग अन्तर्गत ८ क्लब नकआउट चरणमा पुगेका छन् । लिग चरणका खेल सकिएपछि नकआउट चरणमा पुग्ने ८ क्लबको टुंगो लागेको हो भने बाँकी ८ क्लबको टुंगो प्लेअफबाट लाग्ने भएको छ । च्याम्पियन्स लिग खेलिरहेका ३६ क्लब मध्ये शिर्ष ८ स्थानमा रहेका आर्सनल, बायर्न म्युनिख, लिभरपुल, टोटन ह्याम, बार्सिलोना, चेल्सी, स्पोर्टिंग सिपि र म्यानचेस्टर सिटी नकआउट मा प्रवेश गरेका हुन् । त्यस्तै नवौं स्थानदेखि २४औं स्थानसम्म रहेका क्लबहरु प्लेअफ खेल्ने भएका छन् ।  प्लेअफ खेल्ने १६ टिममा रियल म्याड्रिड, इन्टर मिलान, पीएसजी, न्यूक्यासल युनाइटेड, युभेन्टस, एटलेटिको म्याड्रिड, एटलान्टा, बायर लिभरकुसेन, बोरुसिया डोर्टमण्ड, ओलाम्पियाकोस, क्लब ब्रुगे, गालाटासारे, मोनाको, क्वाराबाग, बोडो र बेनिफिका रहेका छन् । प्लेअफको ड्र शुक्रबार हुने छ । त्यसैगरी २५औं स्थानदेखि ३६औं स्थानसम्म रहेका सबै क्लब प्रतियोगिताबाट बाहिरिएका छन् ।

#Top20News #DailyBulletin #NepalNews #BreakingNews #MainHighlights #NewsUpdate #TodayHeadlines #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimages