

काठमाडौँ । भारतको बिहारको नयाँ सरकारले आफ्नो पहिलो बजेट प्रस्तुत गरेको छ । यो ७९ वर्षीय अर्थमन्त्री विजेन्द्र यादवले प्रस्तुत गरेका थिए र यो केवल ११ मिनेट ३५ सेकेन्डसम्म चलेको थियो ।
यो २००५ पछि सत्तामा रहेको नीतीश कुमारको सरकारले प्रस्तुत गरेको सबैभन्दा छोटो बजेट भाषण थियो ।

बिहारमा यस वर्षको बजेट ३.४७ लाख करोड भारु रहेको छ, जुन अघिल्लो ३.१६ लाख करोड भारुको बजेटभन्दा ३०,००० करोडले बढी हो।
बजेट भाषणपछि आयोजित पत्रकार सम्मेलनमा अर्थ सचिव आनन्द किशोरले औद्योगिकीकरण यस बजेटको मुख्य केन्द्रबिन्दु भएको बताए । यसबाहेक, शहरी विकास, पर्यटन, स्वास्थ्य र शिक्षा पनि सरकारको एजेन्डामा रहेको उनले बताए ।
बजेट नीतीश कुमार सरकारले घोषणा गरेको सात निश्चय भाग तीनमा पनि केन्द्रित छ । सात निश्चय भाग तीनमा प्रतिव्यक्ति आय दोब्बर गर्ने, १ करोड रोजगारी सिर्जना गर्ने, महिला सशक्तिकरण गर्ने र सबैको जीवन सहज बनाउने जस्ता संकल्पहरू समावेश छन् ।
पत्रकारहरूले अर्थमन्त्री विजेन्द्र यादवलाई छोटो बजेट भाषणको बारेमा सोध्दा उनले लामो भाषण दिएर के हुन्छ ? भन्ने जावफ दिएका थिए ।



