

-केशब पन्थी ,अर्घाखाँची डटकम।
सन्धिखर्क – अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ८ गोलखाडामा किसानहरूले बेसार खेती खन्न सुरु गरेका छन्। पछिल्लो समय नगदे बालीतर्फ किसानहरूको आकर्षण बढ्दै जाँदा यहाँका किसानहरू बेसार खेतीबाट राम्रो आम्दानी लिन सफल हुँदै गएका छन्।


गोलखाडाका किसान वसन्त कुवरले गत वर्ष बेसार खेतीबाट करिब २० क्युटल उत्पादन गरी बिक्री गरेको बताउनुभएको छ। उहाँका अनुसार गत वर्षको उत्पादनले राम्रो आम्दानी दिएको थियो, जसका कारण यस वर्ष पनि बेसार खेतीलाई निरन्तरता दिइएको हो।


किसान कुवरले यस वर्ष पनि बेसार राम्रो उत्पादन भएको जानकारी दिनुभयो। हाल खनाइको काम भइरहेको र यस वर्ष २० देखि २५ क्युटलसम्म बेसार उत्पादन हुने अनुमान गरिएको उहाँको भनाइ छ।
मौसम अनुकूल हुनु, समयमै गोडमेल तथा स्याहार–सुसार गर्न पाउनु उत्पादन राम्रो हुनुको मुख्य कारण रहेको उहाँले बताउनुभयो। बेसार खेती गर्दा अन्य बालीमा देखिने बादर र बदेलको समस्या यहाँ खासै नरहेको किसान कुवरले उल्लेख गर्नुभयो। उहाँका अनुसार बेसार खेतीलाई बादर र बदेलले नोक्सान नगर्ने भएकाले कुनै पनि समस्या नभएको र ढुक्कसँग खेती गर्न सकिएको छ।

यसले किसानलाई मानसिक र आर्थिक दुवै रूपमा सहज बनाएको उहाँको भनाइ छ। स्थानीय किसानहरूका अनुसार बेसार खेतीले कम लागतमा राम्रो प्रतिफल दिन सक्ने भएकाले आगामी दिनमा यस क्षेत्रका अन्य किसानहरू पनि यसतर्फ आकर्षित हुने सम्भावना बढेको छ। साथै बेसारको बजार माग राम्रो रहेकाले उत्पादन भएको बेसार बिक्रीमा समेत समस्या नदेखिएको उनीहरू बताउँछन्।

कृषि क्षेत्रमा जानकारहरूका अनुसार अर्घाखाँची जिल्लाको माटो र हावापानी बेसार खेतीका लागि उपयुक्त रहेको छ। यदि व्यवस्थित रूपमा खेती विस्तार गर्न सकियो भने यसले किसानको आम्दानी वृद्धि गर्नुका साथै स्थानीय अर्थतन्त्रलाई समेत बलियो बनाउने विश्वास गरिएको छ।

यसरी सन्धिखर्क नगरपालिका वडा नम्बर ८ गोलखाडामा सुरु भएको बेसार खेतीले किसानलाई आत्मनिर्भर बनाउने दिशामा सकारात्मक संकेत देखाएको छ। उचित प्राविधिक सहयोग, बजार व्यवस्थापन र निरन्तर मेहनत कायम रहन सकेमा बेसार खेती यस क्षेत्रका किसानका लागि दिगो आम्दानीको प्रमुख आधार बन्न सक्ने देखिन्छ।
#BasarKheti #Sandhikharka #Golkhada #KrishiNepal #LocalFarmer #BasantaKuwar #AgricultureSuccess #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD



