

काठमाडौँ । बंगलादेशमा हाल संसद र सभामुख दुवै नभएको अवस्थामा नयाँ सरकारलाई शपथ कसले दिलाउने भन्ने विषयमा चासो बढेको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजाअनुसार बंगलादेश राष्ट्रवादी पार्टी (बिएनपी) ले दुई तिहाई बहुमत प्राप्त गरेको छ र सरकार गठनको तयारी अघि बढेको छ ।
बीएनपीले ३०० सदस्यीय संसदमा २१२ सिट जितेर सरकार बनाउने तयारी गरेको छ । बंगलादेशको संविधानअनुसार नयाँ सरकार गठन प्रक्रिया निर्वाचित सदस्यहरूको शपथबाट सुरु हुन्छ । तर आधिकारिक नतिजा सरकारी राजपत्रमा प्रकाशित भएपछि मात्र शपथ कार्यक्रम आयोजना गरिने भएको छ । राजपत्र प्रकाशनपछि तीन दिनभित्र शपथ सम्पन्न गर्नुपर्ने संबैधानिक व्यवस्था छ । यसबीच अन्तरिम सरकारका अधिकारीहरूले छिट्टै सत्ता हस्तान्तरण प्रक्रिया पूरा हुने बताएका छन् ।

अहिले संसद र सभामुख नभएकाले शपथ कसले दिलाउने भन्ने प्रश्न उठेको हो । संवैधानिक प्रावधानअनुसार राष्ट्रपतिले कुनै व्यक्तिलाई शपथ दिलाउन मनोनयन गर्न सक्छन् । यदि मनोनित व्यक्तिले तोकिएको समयभित्र शपथ दिलाउन नसके मुख्य निर्वाचन आयुक्तले यो जिम्मेवारी पूरा गर्ने बताइएको छ ।
शपथपछि राष्ट्रपतिले बहुमत प्राप्त दलका नेतालाई सरकार गठनको निम्ता दिनेछन् । सो नेता प्रधानमन्त्री नियुक्त भई मन्त्रीपरिषद् गठन गर्नेछन् । प्रधानमन्त्री र मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएपछि नयाँ सरकार औपचारिक रूपमा कार्यभार सम्हाल्नेछ ।
#BangladeshPolitics #NewGovernment #OathCeremony #PoliticalNews #InternationalUpdates #SouthAsia #GovernmentChange #WorldNews #Leadership #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD



