

काठमाडौँ । हलिउडका दिग्गज तथा ओस्कार विजेता अभिनेता रोबर्ट डुभलको ९५ वर्षको उमेरमा निधन भएको छ। उनकी पत्नी लुसियाना डुवैलका अनुसार आइतबार अमेरिकाको भर्जिनियास्थित मिडलबर्गमा आफ्नै निवासमा अन्तिम सास फेरेका हुन् ।

लुसियानाले भावुक सन्देश जारी गर्दै भनेकी छन्- ‘सारका लागि उनी अस्कर विजेता अभिनेता, निर्देशक र कथावाचक थिए, तर मेरा लागि उनी सबैथोक थिए ।’ उनका अनुसार डुवैलले प्रत्येक भूमिकामा पूर्ण समर्पण र मानवीय संवेदनाको गहिराइ प्रस्तुत गरेका थिए ।
डुवैलले सन् १९६२ मा रिलिज भएको टू किल अ मोकिंग बर्डबाट फिल्मी करियर सुरु गरेका थिए, जसमा उनले बू र्याडलीको भूमिका निभाएका थिए । त्यसपछि उनले दर्जनौं चर्चित फिल्ममा स्मरणीय अभिनय गरे । उनलाई सात पटक अस्करका लागि मनोनयन गरिएको थियो भने सन् १९८३ को टेण्डर मेर्सिजका लागि सर्वश्रेष्ठ अभिनेताको अस्कर जितेका थिए । उनले चारवटा गोल्डेन ग्लोब पुरस्कार पनि जितेका थिए, जसमा लनसम दोभ मिनिसिरिजका लागि प्राप्त सम्मान उल्लेखनीय छ ।
सन् १९७२ मा रिलिज भएको द गड फादरले उनलाई विश्वव्यापी पहिचान दिलायो । निर्देशक फ्रान्सिस फोर्ड कोपोलाले उनलाई टम हेगनको भूमिकामा प्रस्तुत गरेका थिए ।
लामो र बहुआयामिक करियरका धनी डुवैललाई हलिउडका महान चरित्र अभिनेतामध्ये एकका रूपमा सधैं सम्झिने गरिनेछ ।



