

काठमाडौँ । विदेश जाने सपनाभित्र लुकेको यथार्थ, मानसिक स्वास्थ्यको मौन पीडा र नेपालीपनको खोजलाई एउटै कथामा समेटेर निर्माण गरिएको नयाँ फिल्म ‘प्रवासी जीवन’ नेपाली फिल्म क्षेत्रमा मनोरञ्जनसँगै समाजका गहिरा यथार्थ उजागर गर्ने कथाहरू भन्ने एउटा प्रयास हो । भुटानी मूलका नेपाली भाषी कलाकार श्याम क्षेत्रीको परिकल्पना, निर्देशन तथा अभिनयमा तयार भएको यस फिल्मले प्रवासी नेपालीहरूको संघर्ष, पहिचान र मानसिक अवस्थालाई केन्द्रमा राखेको छ। अमेरिका बसोबास गर्दै आएका क्षेत्री शरणार्थी शिविरमा हुर्किएका हुन् । कानुनी रूपमा नेपाली नागरिकता नभए पनि उनले आफूलाई नेपाली संस्कार, भाषा र संस्कृतिसँग गहिरो रूपमा जोडिएको बताउँछन् ।

‘म भुटानी मूलको नेपाली भाषी हुँ । मेरो जन्म झापामै भयो, शरणार्थी शिविरमा हुर्किएँ । वैधानिक रूपमा नेपाली नागरिकता नभए पनि म आफूलाई नेपाली नै मान्छु’, क्षेत्रीले भने । अमेरिकामा पुनर्स्थापित भएपछि पनि उनले नेपालीपन नछाडेको र त्यही भावनाले कलाकारितातर्फ आकर्षित गरेको बताए । ‘विदेशमा रहँदा नेपाली हुनुको अर्थ अझ गहिरो महसुस भयो। कलाकारितामा करियर बनाउने सोचले अन्ततः फिल्म निर्माणसम्म आइपुगेँ’, उनले भने ।
क्षेत्रीका अनुसार प्रवासमा बसेर कला क्षेत्रमा सक्रिय रहनु चुनौतीपूर्ण हुन्छ । समय, आर्थिक जिम्मेवारी र कामको चापबीच सिर्जनात्मक काम गर्नु कठिन भए पनि सपनालाई जीवित राख्न सकिने विश्वास उनले व्यक्त गरे । फिल्म ‘प्रवासी जीवन’मा उनले अभिनयसँगै निर्देशनको जिम्मेवारी पनि सम्हालेका छन् ।
फिल्ममा उनले मानसिक स्वास्थ्य समस्याबाट ग्रसित पात्रको भूमिका निर्वाह गरेका छन् । नेपालबाट ठूलो सपना बोकेर अमेरिका पुगेको युवाको कथा फिल्मले प्रस्तुत गर्छ । नयाँ परिवेश, भाषा, संस्कृति र एक्लोपनले मानिसलाई मानसिक रूपमा कसरी कमजोर बनाउँछ र त्यसबाट बाहिर निस्कने संघर्ष कस्तो हुन्छ भन्ने कथालाई फिल्मको मुख्य विषय बनाइएको छ ।
क्षेत्रीका अनुसार नेपालमा बस्ने तथा विदेश जाने सोच बनाइरहेका दुवै वर्गका दर्शकका लागि यो फिल्म महत्त्वपूर्ण छ । ‘विदेश जाने सोच बनाइरहेका युवाले यो फिल्म हेर्नुपर्छ। प्रवासमा रहेका नेपालीहरूले हेरे भने आफ्नै कथा देखेजस्तो अनुभूति हुनेछ’, उनले भने । मानसिक स्वास्थ्यलाई मुख्य विषय बनाउनुको कारण आफ्नै अनुभव भएको उनले बताए। अमेरिकामा १७ वर्षको बसाइमा डिप्रेसन, आत्महत्या र एक्लोपनका धेरै घटनाहरू देखेपछि यस विषयमा कथा भन्नैपर्छ भन्ने महसुस भएको उनको भनाइ छ ।

फिल्ममा अभिनेता राजेश हमाललगायत कलाकारहरूको सहभागिता रहेको छ । हमालले कुनै सर्तविना प्रवासी नेपालीहरूको संघर्षको कथा बुझेर परियोजनामा साथ दिएको क्षेत्रीले बताए । भविष्यमा पनि नयाँ स्क्रिप्ट लेखिरहेको र नयाँ परियोजनाको तयारीमा रहेको उनले जानकारी दिए ।
निर्देशक तथा कलाकार क्षेत्रीका अनुसार ‘प्रवासी जीवन’ केवल एक फिल्म होइन, हजारौँ प्रवासी नेपालीहरूको साझा अनुभवको सिनेम्याटिक अभिव्यक्ति हो । विदेश जाने सपना, मानसिक स्वास्थ्य र नेपाली पहिचानजस्ता प्रश्न उठाउँदै दर्शकलाई सोच्न बाध्य पार्ने उद्देश्य फिल्मको रहेको उनले बताए ।
प्रवासी जीवनका कथावस्तुमा आधारित यो गीतले प्रवासीको पीडा, संघर्ष र भावनात्मक अनुभूति प्रस्तुत गरेको बताइएको छ । आगामी फागुन १५ देखि नेपालभर प्रदर्शन हुने उक्त फिल्ममा नेपालबाट आफ्नो उज्जवल भविष्य र स्थायित्वका लागि संयुक्तराज्य अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नु पर्ने सङ्घर्षसहितको प्रवासी जीवनको कथा रहेको छ ।
उक्त फिल्मलाई श्याम क्षेत्रीसँगै राम अधिकारीले संयुक्त रुपमा निर्देशन गरेका छन् । प्रवासीहरूको सुख दुःख, आरोह अवरोह र चुनौतीहरूलाई मुख्य विषयवस्तु बनाएर फिल्म तयार गरिएको निर्देशक मध्येका एक श्याम क्षेत्रीले बताए । उनले भने, ‘प्रवासमा पुग्ने जो कोहिले यो कथामा आफू वा आफ्नो वरपरको दृश्यलाई पाउनु हुनेछ । हामीले भौतिक रुपमा देखिने दुःखका धेरै चर्चा गर्छौँ तर मानसिक रुपमा भोहिरहेको यातनालाई वे–वास्ता गर्ने गरेका छौँ । त्यसैले हामीले त्यो समय र त्यहाँबाट निस्किएपछिको सुन्दर भविष्यलाई फिल्ममा देखाएका छौँ ।’
उनले मानसिक स्वास्थ्य समस्या र समाधानको विषयलाई केन्द्रीत गरेर फिल्म तयार परेकोले प्रवासीको जीवनलाई नजिकबाट बुझ्न फिल्म फलदायी हुने बताए । फिल्ममा राजेश हमाल, सरिता लामिछाने, बुद्धी तामाङ, महादेव त्रिपाठी, एञ्जेला बस्नेत, गगन सुबेदि, लोकेश भित्रीकोटी, दिव्या न्यौपाने, अबिगेल लुहार, प्रासु गिरि, शिखा अधिकारीसँगै स्वयम् निर्देशक क्षेत्रीले महत्वपूर्ण भूमिकामा अभिनय गरेका छन् ।

‘सिजल एण्ड सिस्टर फाउन्डेसन फर नेपाल’ को सहकार्यसमेत रहेको उक्त फिल्ममा अभिनेता हमाल र अभिनेत्री लामिछाने विषयवस्तुकै कारण जोडिएका हुन् । अमेरिकाको रमणीय दृश्यमा सम्पूर्ण छायाङ्कन गरिएको उक्त फिल्मलाई श्याम क्षेत्री प्रोडक्सन र नेशनल मिडिया प्रोडक्सनले संयुक्त रुपमा निर्माण गरेको छ । ‘डाईङ क्यान्डल’, ‘चक्कर’, ‘जय श्री दाम’, ‘केटीएम कक्टेल’, ‘सरिता’ फिल्म निर्माण गरेका छायाँकार रविन आचार्यले यस फिल्मलाई निर्माण गरेका हुन् ।
फिल्मको कथा, पटकथा तथा संवाद स्वयम् निर्देशक क्षेत्रीले नै तयार गरेका हुन् ।यसमा अमृत बिसुवाले छायाङ्कन, राम अधिकारीले सम्पादन, सुवास सिन्चुरीले पाश्र्व सङ्गीत, देवी खतिवडाले शृङ्गार, राज शङ्कर र प्रतिक सार्कीले ध्वनी मुद्रण, नवीन कार्कीले सङ्गीत सिर्जना, मुख्य सहायक निर्देशन लक्ष्मण अधिकारीले गरेका छन् भने प्रमोद खरेल र प्रताप दास जस्ता गायकले स्वर दिएका छन् । उक्त फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ ।
#प्रवासीजीवन #NepaliMovie #FilmUpdate #CinemaNepal #प्रवासीकोपीडा #MovieNews #EntertainmentNepal #राष्ट्रियसमाचार #मुख्यसमाचार #NepalNews #FilmStory #NepaliCinema #समसामयिकसमाचार #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD



