चुरे वन फडानीमा संलग्न भएको आरोपमा चार जना सहायक वन अधिकृत निलम्बनमा

विक्रम गिरी

 

महेन्द्रनगर – चुरे वन फडानीमा संलग्न भएको आरोपमा जिल्ला वन कार्यालय कञ्चनपुर र डडेल्धुराका चार जना सहायक वन अधिकृत निलम्बनमा परेका छन्। कञ्चनपुर र डडेल्धुराको चुरे क्षेत्रमा भएको वन फडानीमा संलग्न रहेको आरोपमा उनीहरुलाई वन मन्त्रालयले शुक्रबार निलम्बन गरेको हो।

 

निलम्बनमा पर्नेमा कञ्चनपुरको बेतकोट रेञ्जपोष्टका सहायक वन अधिकृत घनश्याम झा र ब्रह्मदेव रेञ्जपोष्टका सहायक बन अधिकृत गोपालदत्त जोशी तथा डडेल्धुराको साधनी रेञ्जपोष्टका बुद्धिराज भट्ट र जोगबुढा रेञ्जपोष्टका सहायक वन अधिकृत बलराम खकुराल छन्। चारै जनालाई शुक्रबार वन मन्त्रालयको सचिवस्तरीय निर्णयबाट निलम्बन गरिएको सुदूरपश्चिम क्षेत्रीय वन कार्यालय धनगढीका निर्देशक विजयराज पौडेलले बताए।

‘चारै जना सहायक वन अधिकृत वन फडानीमा संलग्न भएको पाइएपछि निलम्बन गरिएको हो’- निर्देशक पौडेलले भने। चुरे क्षेत्रमा पर्ने डडेल्धुराका पाँच वटा सामुदायिक वनमा झण्डै ६० हजार क्युफिट बराबरको काठ काटिएको छ। त्यस्तै कञ्चनपुरका गणेश सामुदायिक र शहीद स्मृति सामुदायिक वनभित्र चुरेमा डोजर लगाएर सडक खनिएको छ।

वन फडानी र बाटो निर्माण भएको समाचार बाहिर आएपछि वन विभागका महानिर्देशक वज्रकिशोर यादवसहितको तीन सदस्यीय टोलीले तीन दिनसम्म अनुगमन गरेको थियो। अनुगमनबाट फर्केलगत्तै चार जना सहायक वन अधिकृतलाई निलम्बन गरिएको हो।