

-अनिल नेपाली , अर्घाखाची डटकम ,अर्घाखाची।
अर्घाखाँची – भूमिकास्थान नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष रामचन्द्र ढुङ्गानाले शिक्षाको गुणस्तर अभिवृद्धिका लागि शिक्षक, अभिभावक र विद्यार्थीबीच समान भूमिका र सहकार्य आवश्यक रहेको बताएका छन्।



वडा नं. ७ स्थित कालिका आधारभूत विद्यालयको ३५औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रममा मन्तव्य व्यक्त गर्दै अध्यक्ष ढुङ्गानाले समाजमा प्रतिस्पर्धी तथा सक्षम जनशक्ति उत्पादन गर्न तीन पक्षबीच समन्वय अनिवार्य हुने उल्लेख गरे।

उनले भने, “अब्बल विद्यार्थी उत्पादन गर्न शिक्षकले गुणस्तरीय शिक्षा दिनुपर्छ, अभिभावकले उपयुक्त शैक्षिक वातावरण तयार गरिदिनुपर्छ र विद्यार्थीले मन लगाएर अध्ययन गर्नुपर्छ।” साथै उनले स्थानीय सरकारबाट शैक्षिक सुधारका लागि आवश्यक सकारात्मक र रचनात्मक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन शिक्षिका शर्मिला यादवले गरेकी थिइन्। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजकुमार सिंहले विद्यालयको समग्र अवस्था, उपलब्धि तथा भावी योजनाबारे जानकारी गराएका थिए।



कार्यक्रमको अवसरमा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो। अभिभावक, शिक्षक र स्थानीय सरोकारवालाको उल्लेख्य सहभागितामा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।

#Bhumekasthan #Arghakhanchi #KalikaBasicSchool #EducationQuality #AbhibhabakDiwas #SchoolAnniversary #LocalGovernment #StudentAward #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD



