

स्वच्छ र निष्पक्ष मतदानका लागि जिल्ला प्रशासनको तयारी तीव्र
-अर्घाखाची ड्ट्कम सम्बाददाता, अर्घा्खाची।
अर्घा्खाची। आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्लामा निर्वाचन सम्बन्धी बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा जिल्लास्थित सम्पूर्ण सुरक्षानिकायका प्रमुखहरू, विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकार तथा सञ्चारकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो।


कार्यक्रममा आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने विषयमा गहन छलफल गरिएको थियो। विशेषगरी संवेदनशील तथा अति संवेदनशील मतदान केन्द्रहरूको पहिचान, सुरक्षा व्यवस्थापन, मतदानका दिन हुन सक्ने सम्भावित चुनौतीहरू तथा ती चुनौतीलाई न्यूनिकरण गर्ने रणनीतिबारे विस्तृत प्रस्तुति राखिएको थियो।

सुरक्षानिकायका प्रमुखहरूले निर्वाचन अवधिभर जिल्लाभर उच्च सतर्कता अपनाइएको जानकारी दिएका छन्। मतदान केन्द्र वरपरको सुरक्षा घेराबन्दी, मोबाइल पेट्रोलिङ, संयुक्त सुरक्षा टोली परिचालन तथा आकस्मिक परिस्थितिको सामना गर्न विशेष तयारी गरिएको उल्लेख गरिएको थियो। साथै, सामाजिक सञ्जालमार्फत फैलिन सक्ने अफवाह र भ्रामक सूचनाको निगरानी तथा नियन्त्रणमा समेत विशेष ध्यान दिइने बताइएको छ।


कार्यक्रममा सहभागी पत्रकार तथा सञ्चारकर्मीहरूले निर्वाचनको समयमा सूचना प्रवाहलाई छिटो, विश्वसनीय र व्यवस्थित बनाउन प्रशासनसँग प्रभावकारी समन्वय आवश्यक रहेको धारणा राखेका थिए। उनीहरूले फिल्डमा खटिने पत्रकारहरूको सुरक्षाको प्रत्याभूति, आधिकारिक सूचना समयमै उपलब्ध गराउने व्यवस्था तथा निर्वाचन अवधिभर एकीकृत सूचना संयन्त्र सञ्चालन गर्न सुझाव दिएका थिए।

अन्त्यमा प्रमुख जिल्ला अधिकारी सुवेदीले सबै पक्षबीच सहकार्य, समन्वय र जिम्मेवार भूमिकाबाट मात्रै शान्तिपूर्ण निर्वाचन सम्भव हुने उल्लेख गर्नुभयो। उहाँले प्रशासन, सुरक्षानिकाय, सञ्चारमाध्यम तथा सर्वसाधारण नागरिक सबैको सक्रिय सहयोग अपरिहार्य रहेको बताउँदै आगामी निर्वाचनलाई लोकतन्त्रको उत्सवका रूपमा सफल बनाउन सबैलाई आ–आफ्नो क्षेत्रबाट सकारात्मक भूमिका निर्वाह गर्न आह्वान गर्नुभयो।


जिल्लामा निर्वाचनको मिति नजिकिँदै जाँदा प्रशासनिक तथा सुरक्षा तयारी थप सुदृढ बनाइँदै लगिएको जनाइएको छ।
थप तस्बिर ः






#ArghakhanchiElection #PeacefulElection #FairVoting #DistrictAdministration #SecurityStrategy #ElectionPreparation #NepalElection #DemocracyNepal #समसामयिकसमाचार #मुख्यसमाचार #राष्ट्रियसमाचार #NepalNews #ElectionUpdate #NepalUpdate #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD



