

काठमाडौँ । प्रविधि क्षेत्रमा कार्यरत अमेरिकी कम्पनी गुगलले चीनसँग सम्बन्धित भनिएको एक अन्तर्राष्ट्रिय साइबर जासुसी सञ्जालको खुलासा गरेको जनाएको छ ।
कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार उक्त समूहले विश्वका विभिन्न देशका महत्वपूर्ण निकायहरूको गोप्य विवरणमा अवैध पहुँच बनाउने प्रयास गरेको थियो ।

कम्पनीका अनुसार ‘यूएनसी–२८१४’ नामले चिनिने ह्याकिङ समूहले विश्वका ४२ देशका कम्तीमा ५३ प्रमुख संस्थालाई लक्षित गर्दै सूचना प्रणालीमा प्रवेश गरेको थियो। यो समूह लामो समयदेखि संगठित रूपमा सक्रिय रही विभिन्न व्यक्ति तथा संस्थामाथि निगरानी गर्ने उद्देश्यले काम गरिरहेको बताइएको छ ।

गुगलका सुरक्षा विश्लेषक जोन हल्टक्वेस्टले यो व्यापक जासुसी संयन्त्र भएको उल्लेख गर्दै सरकारी निकाय र दूरसञ्चारसँग सम्बन्धित संस्थाहरू मुख्य निशानामा परेको बताएका छन् । ह्याकरहरूले गोप्य पहुँच प्रणाली स्थापना गरी व्यक्तिको नाम, फोन नम्बर, जन्ममिति, मतदाता परिचय विवरण तथा राष्ट्रिय परिचयसम्बन्धी संवेदनशील सूचना हासिल गरेको जनाइएको छ ।
आक्रमणको मुख्य उद्देश्य दूरसञ्चार सेवासम्बन्धी कल विवरण तथा सन्देश आदानप्रदानसम्बन्धी जानकारी संकलन गर्नु रहेको बताइएको छ । घटनापछि सम्बन्धित समूहद्वारा प्रयोग गरिएका डिजिटल संरचना बन्द गरिएको र जासुसी गतिविधि रोकिएको कम्पनीले जनाएको छ ।
यस घटनाले विश्वभर साइबर सुरक्षासम्बन्धी जोखिम बढ्दै गएको संकेत गरेको सरोकारवालाहरूले बताएका छन् ।
#ChinaCyberEspionage #CyberSecurity #GlobalNews #InformationSecurity #TechUpdate #WorldPolitics #समसामयिकसमाचार #मुख्यसमाचार #अन्तर्राष्ट्रियसमाचार #NepalNews #CyberAttack #NepalUpdate #DigitalSecurity #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD



