

काठमाडौँ । अफगानिस्तान र पाकिस्तानबीच सीमाक्षेत्रमा भएको सैन्य झडपपछि दुवै देशले एकअर्कामाथि ठूलो क्षति पुर्याएको दाबी गरेका छन् । अफगान पक्षले कुनार क्षेत्रमा गरिएको आक्रमणमा पाकिस्तानका ५५ सैनिक मारिएको जनाएको छ ।
तालिबान सरकारका प्रवक्तालाई उद्धृत गर्दै अफगान सञ्चारमाध्यमहरूले पाकिस्तानी सेनाका केही शव आफ्नो नियन्त्रणमा रहेको तथा १९ वटा सैनिक चौकी र एक सैन्य मुख्यालय कब्जामा लिइएको दाबी गरेका छन् । अफगान पक्षका अनुसार केही पाकिस्तानी सैनिकलाई जीवितै पक्राउ गरिएको छ भने हतियार र सैन्य सामग्रीसमेत नियन्त्रणमा लिइएको बताइएको छ ।

यसको जवाफमा पाकिस्तानले प्रतिआक्रमण सुरु गर्दै काबुल, नंगरहारलगायत विभिन्न क्षेत्रमा हवाई हमला गरेको जनाएको छ । पाकिस्तान सरकारको दाबीअनुसार हालसम्म १३३ अफगान तालिबान लडाकु मारिएका छन् भने दुई सयभन्दा बढी घाइते भएका छन् । साथै २७ चौकी ध्वस्त पारिएको र ९ चौकी नियन्त्रणमा लिइएको बताइएको छ ।
अफगान रक्षा मन्त्रालयले भने पाकिस्तानी हवाई हमलामा आफ्ना ८ जनाको मृत्यु र ११ जना घाइते भएको जानकारी दिएको छ । झडप सुरु भएको करिब चार घण्टापछि मध्यराततिर लडाइँ रोकिएको जनाइएको छ ।

नंगरहार, नूरिस्तान, कुनार, खोस्त, पक्तिया र पक्तिका लगायत सीमावर्ती क्षेत्रमा अझै पनि तनाव कायम रहेको बताइएको छ। पछिल्ला महिनाहरूमा सीमा क्षेत्रमा लगातार झडप हुँदै आएपछि दुई देशबीचको सम्बन्ध थप तनावपूर्ण बनेको छ ।
पाकिस्तानले आफ्नो भूमिविरुद्ध गतिविधि गर्ने समूहहरू अफगानिस्तानबाट सञ्चालन भइरहेको आरोप लगाउँदै आएको छ भने तालिबान सरकारले उक्त आरोप अस्वीकार गर्दै आएको छ ।



