

काठमाडौँ । इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको मृत्यु भएको छ । इरानका सरकारी मिडियाले अमेरिका र इजरायलको आक्रमणमा खामेनीको मृत्यु भएको जानकारी दिएका हुन् । खामेनी अमेरिका र इजरायलको आक्रमणमा शहिद भएको इरानी सरकारी मिडियाले उल्लेख गरेको छ ।

इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनी सन् १९३९ मा उत्तर पूर्वी सहर मशहदमा जन्मिएका थिए । उनी एक धार्मिक विद्वानका छोरा थिए । खामेनी सन् १९६२ मा आयातुल्लाह रुहोल्लाह खोमेनी नेतृत्वको धार्मिक विरोध आन्दोलनमा सहभागी भएका थिए ।

सन् १९७९ मा भएको इस्लामिक क्रान्तिपछि खामेनी इरानको उप रक्षामन्त्री बनेका थिए । त्यही समयमा उनले इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्स गठन र व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेका थिए ।
सन् १९८९ जुनमा आयातुल्लाह खोमेनीको निधन भएपछि धार्मिक अगुवाहरूको परिषद् विशेषज्ञ सभाले खामेनीलाई नयाँ सर्वोच्च नेताका रूपमा चयन गरेको थियो । त्यसबेला आवश्यक धार्मिक दर्जा नपुगेको भए पनि उनलाई नेतृत्व दिन संविधान नै संशोधन गरिएको थियो ।
सर्वोच्च नेता बनेपछि खामेनीले लामो समयसम्म इरानको राजनीति र सशस्त्र शक्तिमाथि बलियो नियन्त्रण कायम राखेका थिए । शासन प्रणालीविरुद्ध उठ्ने चुनौतीहरूलाई उनले कडाइका साथ दबाएको आरोप पनि लाग्दै आएको छ ।
वैदेशिक नीतिमा पनि उनले कडा धारणा अपनाउँदै अमेरिका प्रति निरन्तर अविश्वास व्यक्त गर्दै आएका थिए । साथै उनले इजरायल राज्यको अस्तित्वबारे बारम्बार विरोध जनाएका थिए र ऐतिहासिक घटनाबारे समेत विवादास्पद अभिव्यक्ति दिएका थिए । खामेनीको नेतृत्वकालमा इरानमा सात जना राष्ट्रपति कार्यकाल सम्हालेका छन् । उनका छ जना सन्तान रहेका छन् ।
#खामेनी #इरान #IranHistory #IranPolitics #MiddleEast #Revolution1979 #IslamicRepublic #WorldPolitics #GlobalAffairs #IranLeadership #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



