मध्यपूर्वमा रहेका नेपाली नागरिकको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण

`

 

काठमाडौँ । मध्यपूर्वमा रहेका नेपाली नागरिकको सुरक्षा तथा आपतकालीन समन्वयका लागि गैरआवासीय नेपाली संघले सरकारको ध्यानाकर्षण गराएको छ ।

संघका अध्यक्ष बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईलाई भेटेर पछिल्लो अवस्थाबारे चासो व्यक्त गरेको हो ।

भेटमा अध्यक्ष केसीले मध्यपूर्व क्षेत्रमा विकसित परिस्थितिका कारण त्यहाँ रहेका प्रमुख श्रम गन्तव्य मुलुकहरूमा त्रास र अनिश्चितता बढेको बताए । गैरआवासीय नेपाली संघले त्यहाँ रहेका नेपालीको अवस्थाबारे निरन्तर जानकारी लिइरहेको पनि उनले उल्लेख गरेका थिए ।

उनले कोभिड–१९ महामारीका बेला संघले राहत, उद्धार, स्वदेश फिर्ती तथा पुनर्स्थापनामा प्रभावकारी भूमिका खेलेको स्मरण गराउँदै अहिलेको परिस्थितिमा पनि आवश्यक सहयोग गर्न संघ तयार रहेको बताए । साथै परराष्ट्र मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलगायत सम्बन्धित निकायसँग उच्चस्तरीय समन्वय गरी आपतकालीन संयन्त्र निर्माण गर्न आग्रह गरे ।

सचिव राईले पश्चिम एसियामा विकसित अवस्थालाई ध्यानमा राख्दै त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा र सम्भावित उद्धारका लागि सरकारले द्रुत कार्यदल गठन गरी काम सुरु गरेको जानकारी दिए । परराष्ट्र सचिवको संयोजकत्वमा गठन गरिएको उक्त कार्यदलमा गैरआवासीय नेपाली संघलाई समेत समेटिने उनले बताए ।

कार्यदलले सम्बन्धित निकाय र अन्तर्राष्ट्रिय संस्थासँग समन्वय गर्दै आवश्यक कदम चाल्नेछ । साथै त्यहाँ रहेका नेपालीलाई नियमित सूचना र आवश्यक सहायता उपलब्ध गराउने व्यवस्था मिलाइएको पनि मन्त्रालयले जनाएको छ ।

images

भेटमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्री, श्रम आप्रवासन तथा गैरआवासीय नेपाली समन्वय महाशाखा प्रमुख पुष्पराज भट्टराई, पश्चिम एसिया महाशाखा प्रमुख रामकाजी खड्का लगायतका अधिकारी तथा संघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

#मध्यपूर्व_नेपाली_सुरक्षा #आपतकालीन_समन्वय #NepaliAbroad #EmergencyAlert #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

images

Nepal life insuranceimagesimages