प्रधानममन्त्रीका सञ्चार सल्लाहकार रामरिझन यादवका अनुसार प्रधानमन्त्री भट्टराईले चिनियाँ प्रधानमन्त्रीलाई नेपालमा जारी शान्ति प्रक्रिया र संविधान लेखनबारे जानकारी गराएका थिए।
आजै दुवै मुलुकका प्रधानमन्त्रीको उपस्थितिमा विभिन्न आठवटा सम्झौतामा हस्ताक्षर भयो। आज हस्ताक्षरित सम्झौताहरुमा नेपाल-चीन सीमा क्षेत्रमा सुख्खा बन्दरगाह व्यवस्थापन, सीमा क्षेत्रका बासिन्दाले चरण क्षेत्रको उपयोग गर्न पाउने सुविधा, दुवै मुलुकका विदेश मन्त्रालयबीच सहयोग आदानप्रदान रहेका छन्। ती सम्झौतामा नेपालका तर्फबाट उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका विदेशमन्त्रीले हस्ताक्षर गरे।
त्यसैगरी आर्थिक तथा प्राविधिक सहयोग प्रवर्द्धन, सशस्त्र प्रहरी बलका लागि प्रशिक्षण प्रतिष्ठान स्थापना, गृह मन्त्रालयमार्फत प्रदान गर्ने गरी नेपाल प्रहरीलाई आवश्यक उपकरणलगायत भौतिक सामग्री प्रदानसम्बन्धी तीन बेग्लाबेग्लै समझदारी पत्रमा नेपालका तर्फबाट अर्थमन्त्री वर्षमान पुन र चिनियाँ अर्थमन्त्रीले आज हस्ताक्षर गरेका छन्।
त्यस्तै, सांस्कृतिक आदानप्रदान तथा ऋण व्यवस्थापनका लागि संयन्त्र खडा गर्नेसम्बन्धी एक सम्झौतामा पनि हस्ताक्षर भएको छ। रासस



