

काठमाडौँ । इरानका दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनीका छोरा मोज्तबा खामेनीलाई देशको नयाँ सर्वोच्च नेताका रूपमा घोषणा गरिएको छ । ईरानी सरकारी टेलिभिजनले सोमबार बिहान यसबारे औपचारिक जानकारी दिएको हो ।

अयातुल्ला अली खामेनीको हत्या भएपछि सुरु भएको तनाव र युद्धको अवस्थाबीच यस्तो निर्णय गरिएको जनाइएको छ । मोज्तबा खामेनीलाई लामो समयदेखि सम्भावित उत्तराधिकारीका रूपमा हेरिँदै आएको थियो । उल्लेखनीय कुरा के भने उनले यसअघि कुनै सरकारी पदका लागि चुनाव लडेका थिएनन् र कुनै औपचारिक पदमा नियुक्त पनि भएका थिएनन् ।

ईरानको ८८ सदस्यीय धार्मिक विशेषज्ञ सभाले मोज्तबालाई नयाँ सर्वोच्च नेता चयन गरेको हो । उक्त सभा धार्मिक विद्वानहरूको समूह हो, जसले देशको सर्वोच्च नेता छनोट गर्ने अधिकार राख्छ । सरकारी टेलिभिजनले सार्वजनिक गरेको वक्तव्यमा उनलाई बलियो समर्थनका आधारमा चयन गरिएको उल्लेख गर्दै देशवासीलाई उनको नेतृत्वमा एकजुट हुन आग्रह गरिएको छ ।
इस्लामी क्रान्तिपछि करिब आधा शताब्दीमा सर्वोच्च नेताको पदमा सत्ता हस्तान्तरण भएको यो दोस्रो पटक हो । केही दिनदेखि सार्वजनिक रूपमा नदेखिएका मोज्तबा अब ईरानको सत्ता संरचनाको केन्द्रमा रहनेछन् । उनी देशका महत्वपूर्ण निर्णय गर्ने अन्तिम अधिकारसहित सेना र शक्तिशाली अर्धसैनिक संगठन रिभोल्युसनरी गार्डका सर्वोच्च कमाण्डर पनि हुनेछन् ।
यद्यपि उनको नेतृत्वलाई अमेरिकाको विरोध सामना गर्नुपर्ने संकेत देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि खामेनीका छोरालाई आफूले स्वीकार नगर्ने टिप्पणी गरेका थिए । उनले ईरानमा शान्ति र सहकार्य ल्याउने नेतृत्व आवश्यक रहेको बताएका थिए ।
यसबीच ईरानको रिभोल्युसनरी गार्डले मोज्तबा खामेनीलाई समर्थन गर्ने घोषणा गरेको छ भने ईरान समर्थित लेबनानी संगठन हिजबुल्लाहले पनि उनको तस्बिर सार्वजनिक गर्दै इस्लामी क्रान्तिको नेतृत्वको रूपमा समर्थन जनाएको छ ।
#MojtabaKhamenei #IranLeadership #SupremeLeader #InternationalNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



