

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण, भयरहित र व्यवस्थित रूपमा सम्पन्न गराउन प्रहरी कर्मचारीहरूले खेलेको भूमिका प्रशंसनीय रहेको बताएका छन् । सोमबार नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आयोजित कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा मातहतका प्रहरी अधिकारी र जवानलाई सम्बोधन गर्दै उनले सीमित साधनस्रोत र चुनौतीपूर्ण परिस्थितिका बीच पनि प्रहरीले उच्च मनोबलका साथ जिम्मेवारी पूरा गरेको बताए । उनले समाजमा शान्ति सुरक्षा कायम राख्न प्रहरीको सक्रियता महत्वपूर्ण रहेको उल्लेख गर्दै आफ्नो जिम्मेवारी क्षेत्रको राम्रो जानकारी राखेर योजनाबद्ध रूपमा सुरक्षा व्यवस्थापन अझ मजबुत बनाउन निर्देशन दिए। साथै सामाजिक सञ्जालको प्रयोग र कार्य सम्पादनका क्रममा इमानदार, तटस्थ र अनुशासित भएर काम गर्न पनि उनले प्रहरी कर्मचारीलाई आग्रह गरे । कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी ईश्वर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा उपत्यकाका विभिन्न प्रहरी कार्यालयका प्रमुख, अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो।

२- काठमाडौँ महानगरपालिकाले राजधानीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्न सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । महानगरले वायु प्रदूषणका कारण जनस्वास्थ्यमा पर्ने असर कम गर्न सबै नगरवासीको सहयोग आवश्यक रहेको जनाएको छ । महानगरपालिकाले सवारीसाधनको नियमित मर्मत गर्न र तोकिएको प्रदूषण मापदण्डभित्रका सवारी मात्र प्रयोग गर्न आग्रह गरेको छ । साथै प्लास्टिक तथा अन्य फोहर नजलाउन र निर्माण सामग्री सडक तथा फुटपाथमा थुपारेर राख्न नदिन पनि अनुरोध गरेको छ । त्यस्तै निर्माण सामग्री ढुवानी, लोड-अनलोड गर्दा धुलो र धुँवा कम निस्कने उपाय अपनाउन महानगरले सुझाव दिएको छ । साथै उद्योग, कलकारखाना र अस्पतालहरूले पनि काठमाडौँ महानगरपालिका प्रदूषण नियन्त्रण मापदण्ड २०८१ अनुसार तोकिएको वायु गुणस्तर र धुँवा सम्बन्धी नियमभित्र रहेर मात्र सञ्चालन गर्नुपर्ने बताइएको छ । महानगरले उद्योगहरूमा वायु प्रदूषण कम गर्ने उपकरण प्रयोग गर्न तथा नागरिकलाई व्यक्तिगत सुरक्षाका लागि बाहिर हिँड्दा मास्क प्रयोग गर्न समेत आग्रह गरेको छ । वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने आईक्यू एयरकाअनुसार अहिले काठमाडौँको एयर क्वालिटी इन्डेक्स विश्वकै दोस्रो धेरै १८६ रहेको छ, जुन चिन्ताजनक अवस्था हो ।
३- निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि लागू गरिएको निर्वाचन आचारसंहिता आज रातिदेखि लागू नहुने जनाएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगको फागुन २५ गते बसेको बैठकले सो निर्णय गरेको हो । यसअघि आयोगले माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचन र फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन निर्वाचन आचारसंहिता लागू गरेको थियो । सो निर्णय माघ ४ गतेको बैठकबाट गरिएको थियो । निर्वाचन आयोग ऐन २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता २०८२ को व्यवस्था अनुसार उक्त आचारसंहिता माघ ४ गते राति १२ बजेदेखि लागू गरिएको थियो । आयोगले अब भने फागुन २५ गते राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू नहुने जानकारी दिएको छ । यससँगै निर्वाचन अवधिमा लागू भएका आचारसंहितासम्बन्धी प्रावधानहरू पनि स्वतः अन्त्य हुने आयोगले स्पष्ट गरेको छ ।
४- नेकपा एमालेका नेता सूर्य थापाले पार्टीभित्र देखिएको बहस र आलोचनालाई संयमित रूपमा समीक्षा गर्नुपर्ने बताएका छन् । उनले मिडिया र सडकमा गालीगलौज गरेर सही निष्कर्षमा पुग्न नसकिने उल्लेख गरेका छन् । निर्वाचनमा नेकपा एमालेको लज्जास्पद हारपछि सामाजिक सञ्जालमा नेतृत्वले राजीनामा दिनुपर्ने बहस चर्किन थालेपछि थापाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले थापाले पार्टीभित्रका विषयमा स्थापित आन्तरिक अभ्यासअनुसार नै छलफल र समीक्षा हुनुपर्ने बताएका हुन् । साथै उनले पार्टी महाधिवेशनमा अस्वीकृत भइसकेका विषयलाई आधार बनाएर पुनः चलखेल गर्नु बुद्धिमानी नहुने समेत बताएका छन् । थापाले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणाम आफूहरूका लागि अनपेक्षित रहेको बताउदै देशको दीर्घकालीन हितविपरीत बाह्य प्रभाव, दुष्प्रचार र ठूलो लगानीका कारण यस्तो अवस्था सिर्जना भएको दाबी गरेका छन् । उनले समयक्रममा ती गतिविधिहरूको वास्तविकता खुल्दै जाने उल्लेख गरेका छन् । उनले निर्वाचनमा हारजित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै प्राविधिक रूपमा घोषित परिणामलाई स्वीकार गरिएको बताएका छन् । तर राजनीतिक घटनाक्रमको विश्लेषणका आधारमा अहिले देखिएको परिणाम अस्थायी मात्र हुन सक्ने उनको धारणा छ । थापाले अहिलेको अवस्थामा पार्टीभित्र संयम र विवेकका साथ समीक्षा गर्नुपर्नेमा जोड दिएका छन् । विरोधी शक्तिहरूको प्रभावमा परेर अनावश्यक विवाद सिर्जना नगर्न पनि उनले नेताकार्यकर्तालाई आग्रह गरेका छन् । उनले वर्तमान अवस्था राष्ट्र र जनताका लागि साझा चुनौती भएको उल्लेख गर्दै यस्तो परिस्थितिमा एकताबद्ध भएर मात्र समस्याको सामना गर्न सकिने बताएका छन् ।

५- रूसका राष्ट्रपति व्लादिमिर पुटिनले इरानका नयाँ सर्वोच्च नेता मुजतबा खामेनीलाई पदभार सम्हालेको अवसरमा बधाई दिएका छन् । रूसको राष्ट्रपति कार्यालयले पुटिनले मुजतबालाई बधाई दिएको जानकारी दिएको हो । पुटिनले आफ्नो सन्देशमा मुजतबाले आफ्ना पिता आयातोल्ला अली खामेनीको कामलाई सम्मानपूर्वक अघि बढाउने विश्वास व्यक्त गरेका छन् । उनले कठिन परिस्थितिमा पनि इरानी जनतालाई एकताबद्ध राख्न सक्ने अपेक्षा गरिएको बताएका छन् । यसका साथै पुटिनले रूस र इरानबीचको सम्बन्धलाई निरन्तर मजबुत बनाइने पनि बताएका छन् । उनले तेहरानप्रति रूसको समर्थन र सहकार्य कायम रहने उल्लेख गर्दै रूस इरानसँगै उभिएको सन्देश दिएका छन् ।
६- सर्वोच्च अदालतले धनुषा जिल्ला प्रतिनिधिसभा सदस्य किशोरी साह कमलको उम्मेदवारी खारेज गर्नुको कारण सोधेको छ। सोमबार न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले निर्वाचन आयोगलगायतका विपक्षीलाई लिखित जवाफ पेश गर्न आदेश दिएको हो । अदालतले निवेदकको मागबमोजिम आदेश किन जारी हुनु नपर्ने हो भन्ने आधार र कारणसहित सात दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत् लिखित जवाफ पेश गर्न समेत निर्देशन दिएको छ । साथै अदालतले निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज गर्ने निर्णयसँग सम्बन्धित सम्पूर्ण फाइल पेश गर्न पनि विपक्षीहरूलाई भनेको छ । आदेशमा भनिएको छ- ‘यसमा के कसो भएको हो, निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुन नपर्ने भए आधार कारणसहित यो आदेश प्राप्त भएको मितिले ७ दिनभित्र विपक्षीहरूले महान्यायाधिवक्ताको कार्यालयमार्फत् लिखितजवाफ पेश गर्नू ।’ साथै इजलासले फागुन २९ गते प्राथमिकतामा पेसी तोकेर आयोगलाई निर्णय सहित छलफलमा उपस्थित हुन समेत निर्देशन दिएको छ । मतदानअघि मौन अवधि सुरू भएकै दिन फागुन १९ गते आयोगले उजुरीको आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमलको उम्मेदवारी खारेज गरेको थियो । सोही दिन साहले आयोगको उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । उम्मेदवारी खारेजसम्बन्धी विषय सर्वोच्चमा विचाराधीन रहेको भन्दै अन्तिम आदेश नआएसम्म मतपरिणाम सार्वजनिक गर्न आयोगले निर्देशन दिएको थियो । आयोगको निर्देशनपछि निर्वाचन सम्पन्न भएपनि धनुषा- १ को मतपरिणाम सार्वजनिक भएको छैन ।
७- काँग्रेसले प्रत्यक्षतर्फ १८ सिट जितेको छ । इलाम- १ मा नेपाली काँग्रेसका निस्कल राई विजयी भएका छन् । निस्कलले १४ हजार ५४३ मत प्राप्त गर्दै जित हासिल गरेका हुन् । यसअघि काँग्रेसका मुगुबाट खड्ग शाही विजयी भएका थिए । उनले ७ हजार ९९४ मत प्राप्त गर्दै एमालेका पूर्णबहादुर रोकायलाई पराजित गरेका छन् । त्यसअघि बाजुराबाट जनकराज गिरी १७ हजार १७३ मत प्राप्त गरेर विजयी भएका छन् । त्यस्तै रौतहट- २ बाट मोहमद फिरदोश आलमले २९ हजार ५२८ मत प्राप्त गर्दै जित हासिल गरेका छन् भने पाँचथरबाट नरेन्द्र कुमार केरुङले १७ हजार २३३ मत प्राप्त गरेर जित हासिल गरेका छन् । त्यस्तै पाल्पा- १ मा सन्दीप राना १८ हजार ३३६ मत प्राप्त गरेर विजयी भएका छन् भने कपिलवस्तु-३ बाट अभिषेक प्रताप शाहले २३ हजार ५३५ मत प्राप्त गरेर विजयी भएका छन् । त्यसैगरी जाजरकोटमा खड्कबहादुर बुढाले २० हजार १४२ मत ल्याएर विजयी भएका थिए भने डोटीमा भारतबहादुर खड्काले १४ हजार ८९७ मत प्राप्त गर्दै विजयी भएका थिए । त्यस्तै अछाम- १ मा भरतकुमार स्वारले १० हजार ७५१ मत प्राप्त गरेर विजयी भएका छन् भने दैलेख- १ मा बासना थापाले १२ हजार ३७२ मत ल्याएर विजयी भएकी छन् । त्यस्तै सुर्खेत- १ मा विष्णुबहादुर खड्काले २६ हजार ८९७ मत प्राप्त गरेर विजयी भएका छन् । त्यस्तै मनाङ मा टेकबहादुर गुरुङले २ हजार ४१५ मत ल्याएर जित हात पारेकी छन् भने मुस्ताङमा योगेश गौचन थकालीले ३ हजार ३०७ मत प्राप्त गर्दै जित हासिल गरेका छन् । त्यसैगरी रसुवामा मोहन आचार्यले १० हजार ६५६ मत ल्याएर विजयी भएका छन् । त्यस्तै तेह्थुममा सन्तोष सुब्वाले ११ हजार ५६१ मत प्राप्त गर्दै जित हासिल गरेका छन् । त्यस्तै सोलुखुम्बुबाट प्रकाश सिंह कार्कीले १३ हजार १६६ मत प्राप्त गरेर विजयी भएका छन् भने हुम्लाबाट जय्पति रोकाय ८ हजार ७९७ मत प्राप्त गरेर जितेका छन् ।
८- अखिल नेपाल फुटबल संघ (एन्फा) ले सातदोबाटोस्थित आफ्नो केन्द्रीय कार्यालयमा गरिएको तालाबन्दीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघका प्रवक्ता सुरेश शाहले जारी गरेको विज्ञप्तिमा फागुन २४ गते सार्वजनिक बिदाको दिन नेपाल फुटबल खेलाडी संघले कुनै पूर्व जानकारी वा संवादबिना अचानक तालाबन्दी गरेको उल्लेख गरिएको छ । वार्ताको ढोका खुला रहँदा पनि यस प्रकारको कदम चालिएकोप्रति संघले खेद व्यक्त गरेको छ । एन्फाका अनुसार शहीद स्मारक ‘ए’ डिभिजन लिग तथा राष्ट्रिय लिग सञ्चालनका विषयमा संघ, सहभागी क्लब र खेलाडी संघबीच निरन्तर संवाद हुँदै आएको बताउदै सहमतिअनुसार राष्ट्रिय लिग सम्पन्न भइसकेको र निर्धारित कार्यतालिका अनुसार राष्ट्रिय लिग समाप्त भएको एक महिनापछि ‘ए’ डिभिजन लिग सुरु गर्ने तयारी भइरहेको संघले उल्लेख गरिएको छ । तर कार्यालयमा तालाबन्दी भएपछि दैनिक प्रशासनिक गतिविधि अवरुद्ध भएकोले सहमतिअनुसारका काम अगाडि बढाउन कठिनाइ भएको एन्फाको भनाइ छ । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको अन्तिम खेलको टिकटबाट प्राप्त केही रकम खेलाडी कल्याण कोषमा जम्मा गर्ने निर्णयमा संघ प्रतिबद्ध रहेको पनि एन्फाले स्पष्ट पारेको छ । संघका अनुसार वर्तमान कार्यसमितिले घोषणा गरेका सबै पुरस्कार रकम भुक्तानी गरिसकिएको छ । अघिल्ला कार्यसमितिले निर्णय गरेर बाँकी रहेका केही पुरस्कार रकम भने आन्तरिक स्रोत उपलब्धताअनुसार क्रमशः भुक्तानी गर्दै जाने प्रतिबद्धता व्यक्त गरिएको छ । तलब तथा भत्ताको विषयमा पनि नियमअनुसार भुक्तानी भइरहेको र आगामी दिनमा पनि सोही व्यवस्था कायम रहने संघले जनाएको छ । एन्फाले कार्यालयमा तालाबन्दी गरेर लिग आयोजना गर्न माग गर्नु विरोधाभाषपूर्ण भएको बताएको छ । तालाबन्दीका कारण राष्ट्रिय लिग, एन्फा यू–१८ लिग र एन्फा महिला लिग जस्ता घरेलु प्रतियोगिताका साथै अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी पनि प्रभावित हुन सक्ने संघको भनाइ छ । यसले हङकङसँगको मैत्रीपूर्ण खेल, नेपाल र लाओसबिच हुने एएफसी छनोट खेल तथा साफ यू–२० प्रतियोगिताको तयारीमा समेत असर पर्ने एन्फाले जनाएको छ । संघले नेपाल फुटबल खेलाडी संघको आह्वानमा केही राष्ट्रिय खेलाडी, राष्ट्रिय लिगमा सहभागी खेलाडी र बाह्य व्यक्तिहरूको सहभागितामा गरिएको तालाबन्दी अनुशासनहीन र अराजक गतिविधि भएको उल्लेख गर्दै तत्काल रोक्न आग्रह गरेको छ । एन्फाले आफ्ना माग कार्यान्वयनका लागि सधैं प्रतिबद्ध रहेको भन्दै तालाबन्दी तत्काल खोल्न सम्बन्धित पक्षलाई आह्वान गरेको छ । यदि यसका कारण नेपाली फुटबलका गतिविधि अवरुद्ध भए त्यसको जिम्मेवारी सम्बन्धित पक्षले नै लिनुपर्ने संघले चेतावनी दिएको छ । साथै एन्फाले आफू सार्वजनिक संस्था भएको उल्लेख गर्दै कार्यालयको भौतिक संरचनाको सुरक्षा र दैनिक गतिविधि सञ्चालनका लागि शान्ति सुरक्षाको व्यवस्था मिलाइदिन नेपाल सरकार र सम्बन्धित सुरक्षा निकायसँग आग्रह गरेको छ ।
९- राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहणका गरेका छन् । सिंहदरबारस्थित कानुन,न्याय तथा मानवअधिकार समितिको हलमा आयोजित समारोहमा राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले नव निर्वाचित सदस्यहरूले शपथ गराएका हुन् । गत माघ ११ गते राष्ट्रियसभाका रिक्त हुन लागेका १८ सदस्यका लागि निर्वाचन भएको थियो । राष्ट्रिय सभाका रिक्त १९ मध्ये एक राष्ट्रपतिबाट मनोनित थिए भने १८ सदस्यका लागि निर्वाचन भएको थियो । जसमा एक जना निर्बिरोध निर्वाचित भएका थिए भने १७ जना निर्वाचनबाट विजयी भएका थिए । जस अनुसार कोशी प्रदेशबाट नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका थिए भने एमालेका रोशनी मेचे र सोमनाथ पोर्तेल विजयी भएका छन् । त्यस्तै मधेस प्रदेशबाट काँग्रेसका धमेन्द्र पासवान र रञ्जित कर्ण, लोसपाका महन्थ ठाकुर र एमालेकी रेखाकुमारी झा विजयी भएका छन् । त्यसैगरी बागमती प्रदेशबाट काँग्रेसकी गीता देवकोटा र एमालेका डा. प्रेमप्रसाद दंगाल विजयी भएका छन् भने गण्डकी प्रदेशबाट एमालेकी सम्झना देवकोटा र कांग्रेसका जगत तिमिल्सिना विजयी भएका छन् । त्यस्तै लुम्बिनी प्रदेशबाट काँग्रेसका बासुदेव जंगली र चन्द्रबहादुर केसी तथा एमालेबाट रामकुमारी झाक्री विजयी भएका छन् भने कर्णाली प्रदेशबाट काँग्रेसका ललितजंग शाही र एमालेकी मीनासिंह रखाल विजयी भएका छन् । त्यसैगरी सुदूरपश्चिम प्रदेशबाट एमालेका लीलाकुमारी भण्डारी र काँग्रेसबाट खम्मबहादुर खाती विजयी भएका छन् ।

१०- बहराइनको सरकारी तेल कम्पनी ‘बापको इनर्जी’ ले आफ्नो कामकाजमा विशेष अवस्था लागू गरेको घोषणा गरेको छ । कम्पनीले परिस्थिती आफ्नो नियन्त्रण बाहिर गएको भन्दै तेल आपूर्ति प्रभावित भए त्यसको जिम्मेवारी आफूले लिन नसक्ने जनाएको छ । कम्पनीले जारी गरेको सूचनामा अप्रत्याशित र असामान्य परिस्थितिका कारण यस्तो निर्णय लिनुपरेको उल्लेख गरिएको छ । यस निर्णयसँगै यदि कुनै कारणले तेलको आपूर्ति रोकिने वा प्रभावित हुने अवस्था आयो भने त्यसका लागि कम्पनीलाई दोषी ठहर गर्न नमिल्ने जनाइएको छ । यो निर्णय देशको मुख्य तेल प्रशोधन केन्द्र नजिकबाट बाक्लो धुवाँ उठिरहेको देखिएपछि गरिएको बताइएको छ । यसअघि बहराइन सरकारले सित्रा क्षेत्रमा इरानबाट आएको भनिएको बिना चालकको उड्ने उपकरणबाट आक्रमण भएको जनाएको थियो । सरकारका अनुसार उक्त घटनामा केही व्यक्ति घाइते भएका छन् भने भौतिक क्षतिसमेत भएको छ । बापको इनर्जी बहराइनको प्रमुख तेल प्रशोधन केन्द्र सञ्चालन गर्ने कम्पनी हो । यो कम्पनी देशको ऊर्जा क्षेत्रको महत्वपूर्ण संरचनामध्ये एक मानिन्छ । यस्तो अवस्थामा कम्पनीले विशेष अवस्था घोषणा गरेपछि तेल आपूर्तिमा असर पर्न सक्ने आशंका बढेको छ ।
११- नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालको राजनीतिक अवस्थाले पार्टी कमजोर देखिए पनि एमाले समाप्त नभएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै भट्टराईले पछिल्ला तीन दिनमा करिब हजार जनासँग फोनमार्फत कुराकानी गरेको र त्यत्तिकै सन्देशहरू प्राप्त गरेको बताउदै पार्टीलाई सही नीति, संगठन र नेतृत्वमार्फत पुनः उठाउन सकिने विश्वास व्यक्त गरेका छन् । भट्टराईले निर्वाचन परिणामलाई स्वीकार गर्दै जनताले आफ्नो मतमार्फत एमालेको नीति र नेतृत्वलाई शान्तिपूर्ण रूपमा अस्वीकार गरेको बताएका छन् । उनले यो वर्तमान यथार्थ भएको उल्लेख गर्दै पार्टीले आफूभित्र व्यापक रूपान्तरण गरी जनसमर्थन पुनः प्राप्त गर्ने बाटो रोज्नुपर्ने बताएका छन् । उनले भदौ २३ र २४ पछि पार्टीले लिएका केही नीतिहरू सही नभएको भन्दै त्यसबारे पुनर्विचार गर्न आफूहरूले नेतृत्वलाई विभिन्न बैठक, भेटघाट र महाधिवेशनमार्फत आग्रह गरेको तर त्यसमा सफलता नपाएको बताएका छन् । अब पार्टीभित्र खुला बहस र छलफल आवश्यक रहेको उनको भनाइ छ । भट्टराईले पार्टी अहिलेको अवस्थामा पुग्नुमा नीति मात्र नभई जिम्मेवारीमा रहेका विभिन्न तहका समिति र नेताहरू सबैको भूमिका रहेको बताए। विशेषगरी नीतिगत र कार्यकारी भूमिकामा रहेको केन्द्रीय समिति र केन्द्रीय सचिवालयले यसको जिम्मेवारी लिनुपर्ने उनले उल्लेख गरेका छन् । उनले सफलता वा असफलतापछि हुने जवाफदेहिता कसरी लागू गर्ने भन्ने विषयमा पार्टीभित्र गम्भीर बहस आवश्यक रहेको बताएका छन् । पूर्वाग्रह, भावना र षड्यन्त्रको सोचभन्दा माथि उठेर आत्मसमिक्षा गर्नुपर्ने उनको धारणा छ । भट्टराईले पार्टीको असफलता सिंगो संगठनको असफलता भएको भन्दै सामूहिक बुद्धि र पहलबाट मात्र अहिलेको अवस्था बदल्न सकिने बताए । उनले नेता-कार्यकर्ता सबैलाई पुराना समूहगत घेराबाट बाहिर निस्केर खुला रूपमा बहसमा सहभागी हुन आह्वान गरेका छन् । उनले पार्टी, जनसंगठन र विदेशमा रहेका संगठनका सदस्यहरूलाई पनि आफ्ना सुझाव नेतृत्वसम्म पठाउन आग्रह गरेका छन् । भट्टराईले एमालेका कार्यकर्तालाई धैर्य र संयमतासाथ पार्टी एकता जोगाउँदै आत्मभर्त्सना होइन आत्मसमिक्षाको बाटोमा अघि बढ्न आग्रह गरेका छन् । साथै एमालेबारे सुझाव, आलोचना र टिप्पणी पठाउन बुद्धिजीवी र सर्वसाधारणलाई पनि अपिल गरेका छन् । उनले राष्ट्रिय एकता र नेपाली सार्वभौमिकताको रक्षा आजको साझा जिम्मेवारी भएको उल्लेख गर्दै विभिन्न राजनीतिक शक्तिबीच सकारात्मक सहकार्य आवश्यक रहेको बताएका छन् ।
१२- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले आफ्नो चुनाव खर्च जिल्ला निर्वाचन कार्यालय झापामा बुझाएका छन् । झापा- ५ बाट उम्मेदवार बनेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गरेका बालेनले निर्वाचनमा कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको विवरण आयोगमा बुझाएका छन् । बालेनले सवारी साधनमा २ लाख ९३ हजार ८०० खर्च भएको विवरण पेश गरेका छन् भने हवाई खर्च ३५ हजार, वडा स्तरीय घरदैलो गर्दा ५ लाख ८० हजार खर्च भएको विवरण बुझाएका छन् । त्यस्तै मतदाता प्रशिक्षण कार्यक्रममा खाजा खर्च २८ हजार ९००, नमुन मतपत्र छपाईमा ४८९ हजार ८५०, क्षेत्रीय निर्वाचन कार्यालय संचालनमा एक लाख २० हजार, स्टेसनरी खर्च २२ हजार ८२०, प्रचार प्रसार सामाग्री एक लाख ५७ हजार ४१, ब्यानर र स्टिकरमा एक लाख १९ हजार र मनोनयन दर्तामा १० हजार खर्च भएको उल्लेख गरेका छन् ।
१३- नेप्सेमा तेस्रो सर्किट ब्रेक लागेर आजको लागि शेयर कारोबार बन्द भएको छ । दोस्रो सर्किट ब्रेक लागेको ४० मिनेटपछि १२ बजेर १ मिनेटमा खुलेको नेप्से ३८ सेकेन्डमा नै ६ प्रतिशत बढेर तेस्रो सर्किट लागेको हो । तेस्रो सर्किट लागेसँगै यस दिनका लागि शेयर कारोबार बन्द भएको छ । आज नेप्से १६२.९३ अंकले बढेर २८७५.४३ विन्दुमा पुगेको छ । चुनाव अघि अलमलमा देखिएको नेप्से चुनावको नतिजामा एक दलको स्पष्ट बहुमतको सरकार बन्ने भएपछि त्यसको शेयर बजारमा सकारात्मक प्रभाव परेको छ ।

१४- कतारमा फेक समाचार फैलाएको आरोपमा ३१३ जना पक्राउ परेका छन् । इरानले लगातार गरिरहेको आक्रमणको विषयमा पक्राउ परेका व्यक्तिहरूले गलत समाचारसम्बन्धी भिडियो बनाइ सामाजिक सञ्जालमा पोस्ट गरेको कतारको गृह मन्त्रालयले जानकारी दिएको छ । पक्राउ परेकामाथि अनुमति विना भिडियो निर्माण र प्रसारण, भ्रामक सूचना र अफवाह फैलाउने, र सार्वजनिक चिन्ता उत्पन्न गर्ने सामग्री प्रसारण गरेको आरोप छ भने उनीहरुलाई आवश्यक कानुनी र प्रशासनिक कारबाही गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, पक्राउ परेका व्यक्तिहरू विभिन्न देशका नागरिक रहेको उल्लेख गरेको छ । कतारको गृह मन्त्रालयले हालको परिस्थितिसँग सम्बन्धित भिडियो बनाउने, प्रकाशित गर्ने वा अफवाह फैलाउने कार्य नगर्न र आधिकारिक स्रोतबाट जानकारी हासिल गर्न सबैलाई अपिल गरेको छ ।
१५- नेपाली कम्युनिष्ट पार्टीले धनुषा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा आफ्ना उम्मेदवार मातृकाप्रसाद यादव विजयी भएको मत परिणाम सार्वजनिक भइसकेपछि पनि प्रमाणपत्र नदिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीका केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्यले विज्ञप्ति जारी गर्दै मतगणनाबाट विजय निश्चित भइसकेपछि पनि निर्वाचन आयोगले प्रमाणपत्र हस्तान्तरण नगरेको विषय चिन्ताजनक रहेको बताएका छन् । विज्ञप्तिमा निर्वाचन आयोगको फागुन १८ गते बसेको बैठकले निर्वाचन ऐन २०७४ अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरिसकेको उल्लेख गरिएको छ । त्यसपछि शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भई मतगणना सकिँदा पनि विजयी उम्मेदवारलाई प्रमाणपत्र नदिनु गम्भीर विषय भएको पार्टीको भनाइ छ । निर्वाचन आयोगकै निर्देशनअनुसार फागुन २२ गते सबै उम्मेदवारका प्रतिनिधिको उपस्थितिमा मतगणना सम्पन्न भएको र त्यसबाट मातृकाप्रसाद यादव विजयी भएको पुष्टि भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ। यस्तो अवस्थामा प्रमाणपत्र दिन ढिलाइ गर्नु र स्थापित प्रक्रिया विपरीत काम हुनु चिन्ताजनक रहेको पार्टीले जनाएको छ । उम्मेदवारी नै खारेज भइसकेको व्यक्तिसँग सम्बन्धित भन्दै प्रमाणपत्र वितरण नगर्नु कानुनसम्मत नदेखिने पनि पार्टीको धारणा छ । पार्टीले संवैधानिक निकायका रूपमा निर्वाचन आयोगलाई विधिको शासन पालना गर्दै कुनै राजनीतिक दबाबमा नपरी निष्पक्ष रूपमा काम गर्न आग्रह गरेको छ । साथै न्यायालयले पनि कानुन र प्रक्रियाअनुसार उचित निर्णय गर्ने विश्वास व्यक्त गरिएको छ । आयोगले भने यो विषय हाल अदालतमा भएकाले अदालतको आदेश नआएसम्म मतगणनाको परिणाम सार्बजनिक नगर्न जिल्ला निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ ।
१६- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको ३७ सयले घटेर तोलाको ३ लाख १३ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको ३ लाख १६ हजार ९ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६५ रुपैयाँले घटेर तोलाको ५४१० मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ५४७५ मा कारोबार भएको थियो ।
१७- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले हालको जनमतले पार्टीलाई आफ्ना मुद्दा र एजेन्डाबारे पुनर्विचार गर्न स्पष्ट संकेत दिएको बताएका छन् । उनले ताजा जनादेशले ‘आफ्ना एजेन्डामा फेरि सोच्न आवश्यक छ’ भन्ने सन्देश दिएको उल्लेख गरेका छन् । श्रेष्ठका अनुसार राप्रपाले चुनावमा प्रयास नगरेको भने होइन । उनले पार्टीको नेतृत्व भ्रष्ट वा खराब नभएको र जनहितविपरीतका काम पनि नगरेको दाबी गरेका छन् । यति हुँदाहुँदै पनि अपेक्षा गरेजस्तो मत प्राप्त हुन नसकेको भन्दै उनले यसलाई गम्भीर रूपमा लिएर आगामी दिनमा पार्टीले आफ्नो नीति र एजेन्डाबारे पुनः समीक्षा गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
१८- नेकपा एमालेका नेता गोकुल बास्कोटाले समयअनुसार पार्टी र नेतृत्वमा परिवर्तन आवश्यक रहेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै उनले पार्टी जीवनका उकाली-ओरालीलाई सम्झेर समीक्षा गर्न तयार भए पुनर्विचार, पुनर्संरचना र सुधार स्वाभाविक रूपमा हुने उल्लेख गरेका छन् । उनले विगतमा पार्टी संरचनामा विभिन्न प्रयोग गरिएको स्मरण गर्दै लोकप्रियताको अर्थ सबैको प्रिय हुनु नभई केही नेताको मात्र प्रिय बन्ने अवस्थासमेत देखिएको संकेत गरेका छन् । उनले भनेका छन्- ‘नोष्टालजिक हुने गरी पार्टी जीवनका उकाली ओरालीको फ्ल्यास ब्याक पल्टाउन तयार हुनासाथ रि-भिजन, रि-थिङ्क, रि-स्ट्रक्चरिङ र रिनोभेट सामान्य रुपमै भैहाल्छ । पिरामिड थियो, फुलि थप्न सोली बनायौ ।’ समयअनुसार सुधार नगरे भविष्यमा राजनीतिक रूपमा ‘डाइनोसर’ जस्तै अप्रासंगिक बन्ने खतरा हुन सक्ने उनले चेतावनी समेत दिएका छन् । बास्कोटाले परिवर्तन र आत्मसमीक्षामार्फत पार्टीलाई सुदृढ बनाउँदै अगाडि बढ्नुपर्ने संकेत गरेका छन् । भर्खरै सम्पन्न निर्वाचनमा नेकपा एमालेको लज्जास्पद हारपछि एमाले नेतृत्वले राजीनामा दिनुपर्ने माग उठिरहेका बेला बास्कोटाले यस्तो टिप्पणी गरेका छन् ।

१९- इरानका दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनीका छोरा मोज्तबा खामेनीलाई देशको नयाँ सर्वोच्च नेताका रूपमा घोषणा गरिएको छ । ईरानी सरकारी टेलिभिजनले सोमबार बिहान यसबारे औपचारिक जानकारी दिएको हो । अयातुल्ला अली खामेनीको हत्या भएपछि सुरु भएको तनाव र युद्धको अवस्थाबीच यस्तो निर्णय गरिएको जनाइएको छ । मोज्तबा खामेनीलाई लामो समयदेखि सम्भावित उत्तराधिकारीका रूपमा हेरिँदै आएको थियो । उल्लेखनीय कुरा के भने उनले यसअघि कुनै सरकारी पदका लागि चुनाव लडेका थिएनन् र कुनै औपचारिक पदमा नियुक्त पनि भएका थिएनन् । ईरानको ८८ सदस्यीय धार्मिक विशेषज्ञ सभाले मोज्तबालाई नयाँ सर्वोच्च नेता चयन गरेको हो । उक्त सभा धार्मिक विद्वानहरूको समूह हो, जसले देशको सर्वोच्च नेता छनोट गर्ने अधिकार राख्छ । सरकारी टेलिभिजनले सार्वजनिक गरेको वक्तव्यमा उनलाई बलियो समर्थनका आधारमा चयन गरिएको उल्लेख गर्दै देशवासीलाई उनको नेतृत्वमा एकजुट हुन आग्रह गरिएको छ । इस्लामी क्रान्तिपछि करिब आधा शताब्दीमा सर्वोच्च नेताको पदमा सत्ता हस्तान्तरण भएको यो दोस्रो पटक हो । केही दिनदेखि सार्वजनिक रूपमा नदेखिएका मोज्तबा अब ईरानको सत्ता संरचनाको केन्द्रमा रहनेछन् । उनी देशका महत्वपूर्ण निर्णय गर्ने अन्तिम अधिकारसहित सेना र शक्तिशाली अर्धसैनिक संगठन रिभोल्युसनरी गार्डका सर्वोच्च कमाण्डर पनि हुनेछन् । यद्यपि उनको नेतृत्वलाई अमेरिकाको विरोध सामना गर्नुपर्ने संकेत देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि खामेनीका छोरालाई आफूले स्वीकार नगर्ने टिप्पणी गरेका थिए । उनले ईरानमा शान्ति र सहकार्य ल्याउने नेतृत्व आवश्यक रहेको बताएका थिए । यसबीच ईरानको रिभोल्युसनरी गार्डले मोज्तबा खामेनीलाई समर्थन गर्ने घोषणा गरेको छ भने ईरान समर्थित लेबनानी संगठन हिजबुल्लाहले पनि उनको तस्बिर सार्वजनिक गर्दै इस्लामी क्रान्तिको नेतृत्वको रूपमा समर्थन जनाएको छ ।
२०- मध्यपूर्वमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १०० डलर प्रति ब्यारेलभन्दा माथि पुगेको छ । विश्व बजारको प्रमुख सूचक ब्रेन्ट कच्चा तेलको मूल्य आइतबार बजार खुल्नेबित्तिकै तीव्र रूपमा बढेर १०० डलर पार पुगेको हो । सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि पहिलो पटक तेलको मूल्य यति उच्च पुगेको छ । अमेरिका र इजरायलले ईरानमाथि आक्रमण गरेपछि फारसको खाडीस्थित होर्मुज जलमार्गबाट जहाज आवतजावत लगभग ठप्प भएको छ । यही मार्गबाट विश्वको करिब २० प्रतिशत तेल र तरलीकृत प्राकृतिक ग्यास ढुवानी हुने गर्छ । मार्ग अवरुद्ध भएपछि बजारमा तेल आपूर्तिबारे चिन्ता बढेको छ । आक्रमणअघि कच्चा तेलको मूल्य करिब ७० डलर प्रति ब्यारेल थियो । त्यसपछि केही दिनमै मूल्य बढेर ८० डलर पुगेको थियो भने शुक्रबारसम्म आइपुग्दा करिब ९३ डलर पुगेको थियो। त्यसपछि बजार पुनः खुल्दा मूल्य अझ बढेर १०९ डलर नजिक पुगेको बताइएको छ । ईरानको रिभोल्युसनरी गार्डले होर्मुज जलमार्ग बन्द भएको घोषणा गरेपछि धेरै जहाज मालिकहरूले जोखिमका कारण जहाज सञ्चालन गर्न हिच्किचाएका छन्। यसैबीच जहाज बिमा खर्च पनि तीव्र रूपमा बढेको छ । अमेरिकाले जहाजलाई सुरक्षा र बिमा सहयोग दिने प्रस्ताव गरेको भए पनि आवश्यक बिमा रकम अत्यधिक भएकाले समस्या समाधान हुन सकेको छैन । तनावका बीच बहराइन, कुवेत, कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्सका तेल प्रशोधन केन्द्र र ग्यास संरचनामा पनि आक्रमण भएको जनाइएको छ । यसले ऊर्जा पूर्वाधारमा क्षति पुग्ने जोखिम बढाएको छ । विशेषज्ञहरूका अनुसार होर्मुज जलमार्ग लामो समय बन्द रहे विश्व बजारमा दैनिक करिब दुई करोड ब्यारेल तेल आपूर्ति अवरुद्ध हुन सक्छ। यस्तो अवस्थामा वैकल्पिक मार्ग र आपतकालीन भण्डार प्रयोग गरेर केही आपूर्ति व्यवस्थापन गर्न सकिए पनि विश्व बजारमा तेल अभावको समस्या बढ्ने सम्भावना रहेको विश्लेषण गरिएको छ।
#NepalNews #DailyBulletin #Top20News #BreakingNews #NepalUpdate #NewsSummary
#arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



