के-के भयो मोदी-रवि ७ मिनेट फोन संवादमा कुराकानी ?

‘सम्पर्क सञ्जाल कनेक्टिभिटी, सांस्कृतिक पर्यटन, ऊर्जा र व्यापारका क्षेत्रमा सहकार्य’

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फागुन २१ को निर्वाचनमा ऐतिहासिक जितका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाई दिएका छन् । सोमबार फोन गरेर मोदीले रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई बधाई दिएका हुन् ।

Nepal life insurance

प्रधानमन्त्री मोदीले सभापति रवि लामिछानेसँग करिब ७ मिनेट कुरा गरेको रास्वपा सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् । निर्वाचन दौडधूपका कारण अस्वस्थ रहेका सभापति लामिछानेलाई बधाई व्यक्त गर्दै प्रधानमन्त्री मोदीको आज साँझ फोन आएको उनले बताइन् ।

‘स्वास्थ्य लाभको कामना देखि निर्वाचनमा प्राप्त ऐतिहासिक सफलताका लागि प्रधानमन्त्री मोदीले सभापतिज्यूलाई बधाई ज्ञापन गर्नुभयो,’ सहप्रवक्ता रावलले भनिन्, ‘नयाँ सरकार गठनका लागि शुभकामना व्यक्त गर्नुहुँदै दुई देशबीच सहकार्यका लागि पनि उहाँले प्रस्ताव गर्नुभयो ।’

मोदीले दुई देशबीचको साझा समृद्धि, प्रगति र जनकल्याणका लागि भारत नेपालसँग सहकार्य गर्न प्रतिबद्ध रहेको कुरा पनि फोनमा सभापतिसँग राखेको रावलले बताइन ।

जवाफमा शुभकामना सन्देशका लागि  सभापतिले प्रधानमन्त्री मोदीलाई धन्यवाद दिएका थिए । साथै राष्ट्रिय स्वतन्त्र पार्टी तथा हाम्रो सरकार भारतसँग पारस्परिक सम्मान र साझा समृद्धिमा आधारित सम्बन्ध सुदृढ बनाउन प्रतिबद्ध रहने र ‘विकास कूटनीतिलाई प्राथमिकतामा राख्ने कुरा प्रधानमन्त्री मोदीलाई बताएका थिए ।

साथै, सम्पर्क सञ्जाल कनेक्टिभिटी, सांस्कृतिक पर्यटन, ऊर्जा र व्यापारका क्षेत्रमा सहकार्यमार्फत भारतसँगको साझेदारीलाई नयाँ उचाइमा पुर्याउँदै दुवै देशका जनताको समृद्ध भविष्य सुनिश्चित गर्ने अपेक्षा नेपालले गरेको पनि सभापति लामिछाने प्रधानमन्त्री मोदीलाई फोनमा बताएका थिए ।

#RaviLamichhane #NarendraModi #NepalIndiaRelations #DiplomaticTalk #NepalPolitics #PhoneCallUpdate #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimages