

युरोपेली संघ (ईयू) का नेताहरूले सोमवार मध्यपूर्वमा जारी तनाव कम गर्नका लागि आफ्नो तर्फबाट भुमिका खेल्न तयार रहेको बताएका छन् ।


उनीहरूले स्थितिको न्युनिकरण र पुनः वार्ताको प्रक्रियामा फर्कन समेत आह्वान गरेका छन् । युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टा र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले यस क्षेत्रका नेताहरूसँगको भिडियो कन्फरेन्सपछि जारी गरेको संयुक्त वक्तव्यमा ईयू तनाव कम गर्न र वार्ताको टेबलमा फर्कन सहयोग पु¥याउन हरसम्भव योगदान दिन तयार रहेको उल्लेख गरिएको छ ।

उनीहरूले संवाद र कुटनीति नै अगाडि बढ्ने एक मात्र व्यावहारिक मार्ग रहेको कुरामा जोड दिएका छन् ।वक्तव्यका अनुसार भोन डेर लेयन र कोस्टाले मध्यपूर्वको क्षेत्रीय स्थिरताका लागि ईयुको प्रतिवद्धता पुनः दोहो¥याउँदै सर्वसाधारणको सुरक्षा, अन्तर्राष्ट्रिय कानून, अन्तर्राष्ट्रिय मानवीय कानून र संयुक्त राष्ट्र संघको बडापत्रका सिद्धान्तहरूको पूर्ण पालना गर्न समेत आह्वान गरेका छन् ।



