
विश्वको सबैभन्दा ठूलो बजार र क्रय शत्ति रहेको अमेरिका संग नेपालको व्यापार घाटा हुन थालेको प्रति व्यवसायी एवं विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । ५ बर्षमा अमेरिका तर्फको निर्यात आधा बराबरले घटेको छ भने आयात बढ्दै गएको छ । सन् २००५-२००६ मा नेपालबाट अमेरिका तर्फ ७ अर्ब रुपैयाँ बराबरको निर्यात भएको थियो भने पौनै दुई अर्ब बराबरको आयात भएको थियो । सन् २००९-२०१०मा पूरै विपरितको अवस्थामा आइपुगिएको छ । यो बर्ष निर्यात ३ अर्ब ८६ करोडमा सिमित रह्यो भने आयात बढेर ५ अर्ब ३८ करोडमा पुग्यो ।
अमेरिका संग पहिलो पटक व्यापार घाटा शुरु भएकोमा चिन्ता व्यक्त गरिएको हो । शुक्रबार वाणिज्य मन्त्रालय र युएसएडको सहकार्यमा नेपाल अमेरिका उद्योग वाणिज्य संघले गरेको कार्यक्रममा सहभागीहरुले निर्यात बढाउन ठोस पहल चाल्नुपर्नेमा जोड दिए । अन्तर्राष्ट्रिय बजार विज्ञ अर्थविद् विजेन्द्रमान शाक्य दुई हजार को मध्यदेखी बजार ओरालो लागेर पहिलो पटक व्यापार घाटामा पुग्नु चिन्ताको विषय भएको बताउनुहुन्छ । अमेरिकाले नेपालको ४ हजार ८ सय बस्तु तथा सेवामा जनरलाइज्ड सिष्टम अफ प्रिफरेन्स (जिएसपि) सुविधा अन्तर्गत् कर छुट दिएपनि निकासी गर्न नसक्नु भनेको हाम्रा बस्तु निकासी योग्य नै नहुनु हो उहाँको विश्लेषण छ ।
जिएसपि सुविधा पाएका र नपाएका बस्तुमा अलग अलग ढंगले रणनीति बनाई अगाडी बढ्नुपर्ने उहाँको सुझाब छ । कर छुट पाएका बस्तुका लागि बजारिकणमा जोड दिनुपर्ने र नपाएका बस्तुका लागि टिफा सम्झौताले सुविधा माग्ने मौका आएको उहाँको भनाई छ । सरकारले निजी क्षेत्र र सरोकारवाला संग नियमित रुपमा छलफल गरेर ठोस किसिमले अगाडी बढ्नुपर्नेमा विज्ञहरुले सुझाएका छन् ।



