

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मन्त्री बन्नका लागि कुनैपनि प्रकारको लबिङ वा ‘मिडिया ट्रायल’ नगर्न आफ्ना सांसदहरूलाई निर्देशन दिनुभएको छ । सांसदहरूको अभिमुखीकरण कार्यक्रमको समापन गर्दै उहाँले सरकारमा जाने विषयलाई लिएर बाहिर जथाभावी नबोल्न सचेत गराउनुभएको हो । रास्वपाले अभूतपूर्व जनमत पाएको र सरकारमा जाने सम्भावना रहेको सन्दर्भमा सांसदहरूबीच मन्त्री बन्ने आकांक्षा बढ्नु स्वाभाविक भएपनि त्यसलाई मिडियाबाजीको विषय नबनाउन उहाँले आग्रह गर्नुभयो ।

पार्टीले कसलाई सरकारमा पठाउने भन्ने विषयमा अहिलेसम्म कुनै निर्णय गरी नसकेको उहाँले जानकारी दिनुभाये । मन्त्री छनोटको मापदण्ड व्यक्तिको क्षमता र विज्ञता हुने भन्दै उनले कसैले पनि आफ्नो लागि भनसुन गर्नु नपर्ने बताउनु भयो । मिडियामा धेरै देखिने र नदेखिने दुवैथरी सांसदहरूको मूल्यांकन पार्टीले गरिरहेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘तपाईंहरूमध्ये कोही न कोही मन्त्रालय सम्हाल्ने साथीहरू हुनुहुन्छ । तर कृपया ‘मन्त्री बनाइदिनुस्’ भनेर या मिडिया ट्रायलमा ‘म फलानो मन्त्री’ भनेर प्रचार गर्ने काम बन्द गरिदिनुहोला । पार्टीले क्याबिनेटमा को–कसलाई पठाउँछ भन्ने निर्णय आज यतिखेर तपाईंसँग उभिँदासम्म हामीले गरेका छैनौं । पार्टीले सही निर्णय गर्छ, कसैलाई तपाईंले भन्नु पर्दैन । हामीलाई तपाईंहरूको विज्ञता र क्षमता थाहा छ ।’
उहाँले चुनावको बेला जनतासँग गरिएको ‘करार’ (प्रतिवद्धता पत्र) का अक्षर–अक्षर पढ्न सांसदहरूलाई निर्देशन दिँदै मन्त्री बन्ने दौडमा भन्दा पनि जनताको चुलो कसरी बल्छ र उनीहरूको जीवनस्तर कसरी उकासिन्छ भन्ने कुरामा ध्यान केन्द्रित गर्न निर्देशन दिनुभयो ।
#रविलामिछाने #RSP #NepalPolitics #सांसद #राजनीति #MediaTrial #PoliticalNews #नेपालसमाचार #नेपाल #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



